जनकपुर,२० पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले परिवर्तनका लागि भएका हरेकखाले आन्दोलनका सामु तानाशाहरु झुकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि त्यही हविगत हुने बताएका छन् । मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीलाई सन्की तानाशाहको उपमा समेत दिए ।
कस्ता–कस्ता तानाशाहलाई त आन्दोलनले ठेगान लगाइदियो, जनता समाजवादी पार्टीको युवा प्रशिक्षण कार्यक्रममा आइतबार जनकपुरमा बोल्दै मुख्यमन्त्री राउतले भने, मधेस आन्दोलनले त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला त झुके । जनआन्दोलनले तत्कालीन राजा ज्ञानेन्द्रलाई झुकायो । केपी ओली कुन खेतको मुली हो । यिनको तानाशाही पनि आन्दोलनले विस्थापित गर्ने छ । उनले प्रधानमन्त्री ओलीले सत्ता र पद लम्ब्याउन प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए । पार्टीको झगडा, पदको लोभ र व्यक्तिगत टकरावका कारण ओलीले मुलुकलाई प्रतिगमनतिर धकेलेका छन्, उनले भने,ओलीको नीति नै छ, हम तो डुबे सनम, तुमको भि नहि छोडेगें । उनले प्रतिनिधिसभा विघटनको परिकल्पना संविधानले नगरेकाले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको निर्णय उल्ट्याउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री राउतले प्रमुख प्रतिपक्षी दल कांग्रेसको ढुलमुले नीतिका कारण पनि संसद् विघटनको मुद्दा जेलिएको बताए । कांग्रेसको मनमा लडु फुटिरहेको छ, मुख्यमन्त्री राउतले भने, चुनाव भयो भने बहुमतको सरकार बन्छ कांग्रेसको बुझाइ छ । तर, ओली चुनाव गराउन होइन्, सत्ता लम्ब्याउन संसद् विघटन गरेको बुझ्नु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here