जनकपुरधाम,२१ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजित नभए पनि राजनीतिक रुपमा दुई खेमामा बाडिएसंगै दुवै खेमा आ–आफ्नो रणनीतिका साथ राजनीतिक अभियानमा सक्रिय हुन थालेका छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा आज (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले धनुषा जिल्लास्तरीय भेला आयोजना भएको छ ।
भेलामै सहभागी हुनका लागि मंगलबार बिहान जनकपुर आइपुगेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोलाई स्वागत गर्न विमानस्थल पुगेका कार्यकर्ताहरुले पूर्व एमालेको चुनावी गीत घन्काएका थिए । नेकपाकै जिल्लास्तरीय कार्यकर्ता भेला भनिए पनि ओली पक्षका नेता तथा कार्यकर्ताहरुले पूर्व एमालेको चुनावी गीत तथा नाराहरुलाई नै प्राथमिकता दिएका हुन् । यता, प्रचण्ड–माधव पक्षले भने धनुषाका १८ पालिकामध्ये १७ पालिकामा मंगलबार नै कार्यकर्ता भेला आयोजना गर्दैछ । जनकपुर उपमहानगरपालिकामा भने दुई दिनपछि त्यस्तो भेला आयोजना हुने जनाइएको छ ।