गौर,२१ पुस /

नगरसभा नहुदा रौतहटको राजदेवी नगरपालिकामा कार्यरत कर्मचारीले कर्मचारीले ६ महिनादेखि तलव खान सकेका छैनन् । ६ महिना देखी तलव नपाउदा सो नगरपालिकाका शिक्षकहरु पढाउन छाडेर आन्दोलित भएका छन् ।
नगरपालिकाले नगरसभा गर्न नसक्दा सो नगरपालिकामा कार्यरत शिक्षक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुले साउन महिनादेखि पाउनुपर्ने तलब भत्ता पाएका छैनन् । ६ महिनादेखि तलब नपाएर जीवन धान्न मुस्किल भएको भन्दै तलब भत्ताको माग गर्दै विरोधमा उत्रेका छन् ।
उनीहरुले राजदेवी नगरपालिका कार्यालय अगाडि धर्ना दिदै आफूहरुले पाउनुपर्ने तलब भत्ता तुरुन्त दिन माग गरेका छन् । उनीहरुले हातमा मेरो तलब भत्ता खै ? हामी शिक्षक हौ तर भोकै छौ, भोको पेटले चक डस्टर समाइन्न, तलब नपाए विद्यालय गइन्न, ६ महिनादेखि भोकै छौ , स्थानिय सरकार कहा छौ ? , स्थानिय सरकार अब उठ, उज्यालो भइसक्यो लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए । आफूहरुले साउन यत्ता लतब भत्ता नपाउदा दैनिकी निकै कष्टकर भएकाले वाध्य भएर आन्दोलनमा उत्रनु परेको शिक्षक संघर्ष समितिका संयोजक रवि शंकर यादवले बताए ।उनले आन्दोलन आफुहरुको रहर नभएको जनाउँदै यसअघि तलब भत्ताको माग गर्दै शान्तिपूर्ण धर्ना, हातमा कालोपट्टी बाधेर अध्यापन, नगरप्रमुख , उपप्रमुख, निमित्त प्रशासकिय अधिकृत, प्रमुख जिल्ला अधिकारी लगायतलाई ज्ञापन पत्र बुझाएपनि कुनै सुनुवाइ नहुदा आन्दोलन र प्रदर्शनमा उत्रन परेको गुनासो गरे । नगरप्रमुख धिरेन्द्र कुमार सिंहले झुक्याएको भन्दै आन्दोलनरत शिक्षक कर्मचारीले तलब भत्ता साच्चिकै पाउने ग्यारेण्टि नभएसम्म यस पटकको आन्दोलन जारी राख्ने जनाएका छन् । नगर प्रमुख सिंहले प्राविधक कारणवश नगरसभा गर्न नसकेको र माघ १ गते नगरसभा गर्ने योजनामा आफूहरु रहेको जानकारी दिए । गएको पुष १ गते हुने भनिएको नगरसभा पुष १५ गतेलाई सारिएकोमा सो दिन पनि नगरपालिकाले एक सुचना निकालेर नगरप्रमुख सिंहको आदेश अनुसार भन्दै स्थगित गरेको छ । अब माघ १ गतेपनि नगरसभा हुने र आफुहरुले तलब भत्ता पाउने कुरामा आन्दोलनरत पक्षहरु विश्वस्त छैनन् । स्थानीय सरकार संचालन ऐन २०७४ मा आर्थिक वर्षको असार १० गतेभित्र सबै स्थानीय तहको परिषद् सम्पन्न गरेर प्रस्तुत बजेट असार मसान्तभित्र बहुमत सदस्यबाट पारित गर्नुपर्ने प्रावधान छ । तर समयमै सो नगरपालिकाले नगरसभा गर्न नसक्दा विकास निमार्णमा अन्य कार्यहरु पनि प्रत्यक्ष रुपमा प्रभावित भइरहेका छन् । रौतहट जिल्लामा रहेका १८ वटा स्थानिय तहमध्ये अब नगरसभा गर्न बाकी राजदेवी नगरपालिका मात्र रहेको छ । २०७७ पुस २१ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here