अशोक पहाडी
रौतहट,२१ पुस ।
रौतहटमा नेपाली सेनाको टोलीले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । जिल्लाको राजपुर नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । श्री नम्बर २८ बाहिनी अडा जीतपुर बाराबाट सेनानी नर बहादुर कार्कीको नेतृत्वमा २२ जना स्वास्थ्यकर्मीको टोलीले स्थानियहरुको स्वास्थ्य परीक्षण गरेर निशुल्क औषधी पनि वितरण गरेको थियो ।
नेपाली सेना , नेपाली जनतासंग, भन्ने नेपाली सेनाको मर्म अनुसार कोरोना भाइरसका कारण औषधी उपचार गराउन जान नपाएका, कोरोना र लकडाउनका कारण रोजगारी तथा आम्दानीको श्रोत गुमाएर स्वास्थ्यमा समस्या भएपनि आर्थिक अभावमा उपचार गर्न नसकेकाहरुलाई प्राथमिकतामा राखेर उपचार गरिएको सेनानी कार्कीले तराई एक्सप्रेसलाई जानकारी दिए ।
कार्कीका अनुसार सो नगरपालिकाको वडा नम्बर ९ वैरिया हेल्थपोष्टमा राखिएको स्वास्थ्य शिविरमा १ सय ९ महिला , १ सय १ पुरुष र ३२ बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षण गर्दा स्थानियहरुमा स्वासप्रस्वास सम्बन्धि, ग्याष्ट्रिक, हाडजोर्नी, एलर्जी, पेट सम्बन्धि रोगहरु बढि देखिएको नम्बर २८ फिल्ड एम्बुलेन्स गुल्म बाराकी प्राविधिक सह सेनानी डाक्टर श्रृष्टिना प्रधानले जानकारी दिइन ।
श्री नम्बर २८ बाहिनी अडाका बाहिनीपती रथी जोन्सन खड्काको निर्देशनमा भएको सो शिविरमा इन्द्रबक्स गण रौतहटले सहजीकरण गरेको थियो । आफ्नै गाउठाउमा निशुल्क स्वास्थ्य उपचार तथा औषधी पाएपछि स्थानियहरु खुसी हुदै नेपाली सेनालाई धन्यवाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here