अशोक पहाडी,चन्द्रपुर,५ फागुन । पर्यटन मन्त्रालयले हालैमात्र देशभरका २०० पर्यटकीय गन्तव्यको पूर्वाधार विकास निर्माणका लागि स्थान छनोट गरी करिब रु छ अर्ब ८० करोड विनियोजन गरेको छ ।
त्यसमा प्रदेश २ कै चर्चित पर्यटकिय स्थल नुनथर समेटिन सकेन् । स्थानीय स्तरबाट तथा नुनथर क्षेत्र विकास समितिको पहल नभएका कारण रौतहटमा पर्ने मध्य तराईकै पर्यटकिय स्थल नुनथर देशभरका २०० पर्यटकिय गन्तब्यमा समेटिन नसकेको स्थानीयको भनाइ रहेको छ । पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार निर्माणार्थ रौतहटको चार स्थान छनोट गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना, आयोजना छनोटका क्रममा रौतहटको चन्द्रपुर, मौलापुर, ईशनाथ तथा देवाहि गोनाही नगरपलिकाको स्थान छनोट गरेको हो । योजना अन्तर्गत ईशनाथ नगरपालिकामा महादेव मठमा धर्मशाला निर्माणका लागि अनुमान लागत ४ करोड ३ लाख रहेकोमा मन्त्रालय लागत ३ करोड १४ लाख र साझेदारी लागत १ करोड ४९ रहेको छ । देवाही गोनाहीमा मधेशी संस्कृति संग्रालय निर्माणका लागि अनुमान लागत ६ करोड ९९ लाख रहेकोमा मन्त्रालय लागत ४ करोड ५५ लाख र साझेदारी लागत २ करोड ४४ लाख छ । चन्द्रपुर नगरपालिका तिलेश्वर सामुदायिक वन भित्र पर्यटकिय स्थलको लागि लागत अनुमान ७ करोड रहेकोमा मन्त्रालयको लागत ४ करोड ५५ लाख र साझेदारी लागत भने २ करोड ४५ लाख रहेको छ ।त्यस्तै मौलापुर नगरपालिकाको पुरात्तात्वीक महादेव मन्दिर संरक्षण तथा विकासका लागि अनुमानित लागत २ करोड २७ लाख रहेकोमा मन्त्रालय लागत १ करोड ४ लाख र साझेदारी लागत ७९ लाख रहेको छ । पर्यटकीयस्थलको संरक्षण एवं भौतिक पूर्वाधार निर्माण गर्न छनोट गरिएका रौतहटका चार स्थानीय तहका चार स्थानका लागि बजेटसमेत विनियोजन गरिएको छ ।मन्त्रालयको पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका–२०७७ अनुसार प्रदेश र स्थानीय तहको लागत साझेदारी पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत भौतिक निर्माणलाई प्राथमिकता दिइएको हो । २०७७ फागुन ५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।