काठमाण्डौ,१७ फागुन । प्रधानमन्त्री केपी ओली आज पोखरा जान लाग्नु भएको छ । प्रदेशस्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रमका लागि नेकपा अध्यक्ष समेत रहनु भएका उहाँ आज गण्डकी प्रदेशको राजधानी पोखरा जान लाग्नुभएको हो ।पोखरा सभागृहमा ११ बजे सुरु हुने प्रशिक्षणमा प्रदेशका ११ जिल्लाबाट एक हजार दुई सय हाराहारीमा अगुवा कार्यकर्ता भेला हुने नेकपा ओली समूहका प्रदेश कमिटी सचिव गोविन्दबहादुर नेपालीले जानकारी दिनुभयो ।प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले ११ फागुनमा विघटन बदर गरिदिएपछि ओली समूहद्वारा १३ फागुनको मोटरसाइकल ¥याली, १४ गतेको मार्चपास र १५ को आमसभा रद्द गरिएको थियो । सोही कार्यक्रम आज हुने भएकाले प्रधानमन्त्री ओली पोखरा जान लाग्नुभएको बताइएको छ । पोखरामा हुने प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रदेश कमिटीले सीमित व्यक्ति आउन पाउने गरी मापदण्ड बनाएको छ । पार्टी केन्द्रीय, प्रदेश, जिल्ला कमिटी सदस्य, जनसंगठनका केन्द्रीय र प्रदेश पदाधिकारी, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सांसद प्रशिक्षणमा सहभागी हुन पाउने प्रदेश कमिटी सचिव नेपालीले बताउनुभयो ।