रौतहट,१८ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । गयराति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । गत फागुन ४ गते पनि एक हप्ता नबित्दै मूल्य बढाइएको थियो ।डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै हवाई इन्धन बाहृयतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ ।नयाँ मूल्य वृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैयाँ र डिजेल तथा मटितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पु¥याइएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत छ ।मूल्यवृद्धिपछि आन्तर्राष्ट्रिय उडानतर्फको प्रति किलोलिटर मूल्य अमेरिकी डलर ८ सय ९३ पुगेको निगमले जनाएको छ ।अन्तर्राष्ट्रिय बजार कच्चा तेलको मूल्यमा भएको वृद्धिका कारण भारतीय आयल कर्पाेरेसनबाट बढेर मूल्य प्राप्त भएको निगमले जनाएको छ ।मूल्य समायोजन पछि निगमलाई पेट्रोलमा प्रतिलिटर ८ दशमलव ४२ पैसा, डिजेलमा प्रतिलिटर ६ दशमलव ५६ तथा एलपी ग्याँसमा प्रति सिलिन्डर ३९२ दशमलव ८२ पैसा घाटा रहेको निगमले बताएको छ । अहिले पनि अर्धमासिक रूपमा करिब एक अर्ब ३२ करोड घाटा नै रहने निगमले जनाएको छ ।हालको मूल्य समायोजन पछि पनि भारतीय सीमा रक्सौलमा भन्दा वीरगञ्ज क्षेत्रमा पेट्रोल ३५ दशमलव ९३ पैसा र डिजेल प्रतिलिटर ४२ दशमलव ०७ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।