गौर,२ बैशाख । जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीले कार्यालयबाटै हुलाक टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ । जिल्ला प्रशासनमा विभिन्न प्रयोजनका लागि आउने सेवाग्राहीले पेश गर्ने निवेदन, पत्र, उजुरी, गुनासो लगायतका कागजातहरुमा अनिवार्य हुलाक टिकट टांस्नुपर्ने व्यवस्था रहेको छ । सेवा लिन आउने सेवाग्राहीले हुलाक टिकट खरिद गर्न जिल्ला प्रशासन कार्यालय रौतहटबाट करिब डेढ किलोमिटर टाढा रहेको जिल्ला हुलाक कार्यालयमा जानुपर्ने बाध्यता रहेको थियो । हुलाक कार्यालयमा गएर तोकिएको मूल्यमा टिकट खरिद गर्न नचाहनेहरुले वाध्य भएर कार्यालय वरिपरि रहेका पसले तथा बिचौलियाहरुबाट अंकित मूल्यभन्दा दोब्बर रकम तिरेर टिकट खरिद गर्न बाध्य भइरहेका थिए । सेवाग्राहीको सोही समस्यालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको पहलमा जिल्ला हुलाक कार्यालय रौतहटसँग सम्न्यवन गरि सेवाग्राहीले कार्यालयमै टिकट अंकित मूल्यमै खरिद गर्ने व्यवस्था मिलाइएको हो । देख्दा थोरै रकम भएपनि वार्षिक रुपमा हिसाब गर्ने हो भने सेवाग्राहीले टिकट खरिद गर्नकै लागि बिचौलियाहरुलाई वार्षिक लाखौं रुपैया तिर्नुपर्ने वाध्यता रहिआएकोमा बुधबारदेखि सोको अन्त्य भएको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ रहेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको भवनमा रहेको कोठा नम्बर १२ बाट सेवाग्राहीले टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । सो कोठाबाट जिल्ला हुलाक कार्यालय गौरका कर्मचारी आफै कार्यालय समयभरि बसेर सेवा प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । यसअघि सेवा लिन आउदा अंकित मूल्यभन्दा बढी पैसा तिरेर हुलाक टिकट खरिद गर्नुपर्ने बाध्यता रहेको अब कार्यालयमै अंकित मूल्यमा टिकट खरिद गर्न पाएकोमा सेवाग्राहीहरुले खुसी व्यक्त गरेका छन् । देख्दा सानो लागेपनि सेवाग्राहीहरुलाई कार्यालयबाट सहज सेवा लिन अनि सेवा प्रवाह गर्न त्यसले ठूलो प्रभाव पार्ने भएका यस्ता कुराहरुमा कार्यालय सजग र सचेत रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here