काडमाण्डौ,१० बैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद बढ्दै गर्दा मिलाउने प्रयास र समर्थन खोज्ने अभियानलाई तीव्रता दिनुभएको छ । अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच हिजो र अस्ति लगातार छलफल भएको छ भने हिजो साँझ ओलीले नेता बामदेव गौतमसँग पनि भेट गर्नुभएको छ । पार्टीको शक्ति सन्तुलनमा आफूलाई साथ दिन अध्यक्ष ओलीले प्रस्ताव गरे पनि गौतमले भने तत्कालका लागि अस्वीकार गरिदिएको बताउनुभएको छ । हिजो साँझ ओली र गौतमबीच बालुटारमा साँझको खानासँगै खानेगरी बैठक चलेको थियो । त्यसक्रममा ओलीले आफूलाई साथ दिन आग्रह गरेको नेता गौतमले बताउनुभएको छ । गौतमले भने त्यसका लागि गत फागुन २८ गते भएका निर्णय फिर्ता लिएपछि मात्रै साथ दिन सकिने जवाफ ओलीलाई दिएको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीर नेता नेपालबीच पनि हिजो काठमाडौँको एक होटलमा कुराकानी भएको थियो । होटलबाट बाहिरिएपछि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले नेता नेपालसँग छलफल गर्नुभएको थियो । दुगडले भने दुई नेताबीचको वार्ता सकारात्मक भइरहेको सीआइएनसँग बताउनुभयो । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले हिजो सामूहिक रूपमा अपील जारी गर्दै पार्टीको विवाद छलफलबाटै समाधान गर्न सकिनेमा जोड दिएका छन् । हिजै नेता नेपालसहितका अरु नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । अस्ति पेश भएको रिट दर्ता भएको र पेशी पर्सिका लागि तोकिएको सर्वोच्च अदालतका रिट महाशाखा प्रमुख बाबुराम दाहालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here