जनकपुर, १८ वैशाख । धनुषामा घरायसी विवादका कारण श्रीमानको बीभत्स हत्या गरिएको छ । धनुषाको हंसपुर नगरपालिका—६ टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई उनकै पत्नीले धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । शुक्रबार मध्यराति भएको विवादमा मण्डललाई २३ वर्षीय पत्नी सुशिलादेवी मण्डल र उनका भाइहरु जय मण्डल र अनिल मण्डलले कुुटपिट गर्दै धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक रानाभाटले बताए । मृतक मण्डलको घाँटी र शरीरको विभिन्न भागमा काटिएको छ । कुटपिटबाट मण्डलको मृत्युपछि पत्नी र भाइहरु फरार भएका छन् । घटनास्थलमा पुगेका प्रहरी हत्याबारे अनुसन्धान गरिरहेको र मृतक मण्डलको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको धनुषा प्रहरीले जनाएको छ ।