गौर, २४ बैशाख । रौतहटमा आज मध्यराती १२ बजेबाट निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहीबार सम्पन्न बैठकले बैशाख ३१ गते सम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयमा डाकिएको सर्वपक्षिय भेलापछि (डीसीसीएमसी ) ले जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय लिएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले सो अवस्था रोक थामको लागी निषेधाज्ञा गरिएको जानकारी दिनुभयो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ । यस्तै सवारीका साधन संचालनमा समेत रोक लगाउने प्रशासनले निर्णय गरेको छ । प्रशासनले अत्यावश्यकको सुचीमा राखेका सवारी साधनमा एम्बुलेन्स, खानेपानी, इन्धन, स्वास्थ्य, खाद्यान्न,तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी संचालन गर्न दिने भनेको छ । त्यसैगरी बैंक तथा वित्तिय संस्था, दुरसंचार, विद्युत, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाकसेवा, लगायतका ढुवानी तथा यातायातका साधन समेत विषय उल्लेख गरी संचालन गर्न पाउने भनिएको छ । पसल तथा हाटबजार तत्काललाई संचालनमा ल्याउन नपाइने रौतहट प्रशासनले जनाएको छ । होटल तथा रेष्टुरेन्ट, जीमखाना,पार्लर,शैक्षिक संस्था,ट्युसन सेन्टरहरु पुर्णरुपमा बन्द गराउन निर्देशन दिईएको जारी सूचनामा उल्लेख छ । सरकारी कार्यालयको हकमा अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका कार्यालयले आलोपालो काम सुचारु गर्ने भनिएको छ । प्रशासनले दिएको जानकारी अनुसार विवाहमा बढीमा १५ जना दुई गाडीमा बेहुला,बेहुली सहित ब्यानर राखेर बाहेक हिड्न पाइने छैन् । तोकिएको मापदण्डमा रही विवाहमा सरिक हुने सवारीको हकमा पास नचाहिने पनि प्रशासनले स्पष्ट पारेको छ । प्रशासनले संक्रमण दर बढ्दै गएकाले निषेधाज्ञाको आदेश कडाइका साथ पालना गर्ने र गराउने गरी निषेधाज्ञा जारी गरिएको जनाएको छ । रौतहटका प्रजिअ इन्द्रदेब यादबका अनुसार पूर्ण निषेधाज्ञा जारी भएको अवस्थामा अत्यावश्यक सेवा र कामकाज बाहेक पैदल यात्रि पनि हिडडुल गर्न पाइने छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here