जनकपुर, २४ बैशाख । प्रदेश २ को आठ ओटै जिल्लामा शनिबारदेखि निषेधाज्ञा जारी हुने भएको छ । प्रदेश २ मा निषेधाज्ञा जारी नभएको सर्लाही जिल्लामा पनि शनिबार राती निषेधाज्ञा लागु हुने भएसंगै प्रदेश २ का आठ वटै जिल्लामा निषेधाज्ञा लागु हुने भएको हो । आज राती १२ बजेबाट रौतहट जिल्लामा निषेधाज्ञा जारी हुने भएको छ भने सर्लाहीमा शनिबार रातीबाट निषेधाज्ञा लागु हुने भएको हो । सर्लाहीमा शनिबार मध्यरातीदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । सदरमुकाम मलङ्गवामा शुक्रबार बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले शनिबार राती १२ बजेदेखि आगामी वैशाख ३१ गते राती १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।