अशोक पहाडी,रौतहट,२४ बैशाख । लगातार परेको पानीका कारण रौतहटका मकै किसान मारमा परेकाछन् । हाइब्रिट जातको मकै लगाएका रौतहटका किसानले लगाएको मकै बाली पाकेर घर ल्याउने बेला लगातार पानी परेका कारण मकै भित्राउन समस्या भएको बृन्दावन नगरपालिका १ का किसान रामलोचन राउतले बताए । जिल्लाको उत्तरी भेगमा हाइब्रिट जातको मकै लगाउने किसानको संख्या धेरै रहेको छ । घोगा छोड्याएर दाना सुकाउने बेलामा लगातार पानी परेपछि मकै कुहिने अवस्थामा पुगेको राउतको भनाइ रहेको छ । अधिकांस किसानको मकै खेतबाट भांचर घर ल्याउने बेला भएको भएपनि खेतमा पानी जमेका कारण मकै भाच्न समस्या भएको किसानहरुले बताएकाछन् । बिगत चार दिन देखीको बर्षाका कारण रौतहटको उत्तरी भेगका किसान मारमा परेकाछन् । जिल्लाको चन्द्रपुर,बृन्दावन र गुजरा नगरपालिकाका अधिकांस किसानको खेतमा हाइब्रिट जातको मकै खेतबाट घर ल्याउने बेलामा पानी परेको र घरमा ल्याएको मकै समेत पानी कुहिने अवस्थामा पुगेको चन्द्रपुर ८ का किसान राजन तिमलसिनाले जानकारी दिएकाछन् ।