काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी अध्यक्ष उपेन्द्र यादवले अक्षम्य अपराध गरेकाले उनलाई कारवाही गरिने बताएका छन् । पार्टीको आधिकारिक धारणाविपरीत वैकल्पिक सरकार निर्माण गर्ने भनेर गठबन्धन बनाएर विज्ञप्ति जारी गर्नु पार्टी विभाजन गर्ने काम भएकाले यादवलाई कारवाही गरिने महतोले बताए । ‘मधेशी, आदिवासी, जनजाति, शोषित पीडितहरूलाई अधिकार दिलाउन तथा देशको वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले जसपा गठन भएको हो,’ महतोले लोकान्तरसँग भने, ‘तर, उनले पार्टीको आधिकारिक निर्णय नै नभएको अवस्थामा पार्टी आफ्नो गोजीको सम्पत्ति भएको जस्तो वैकल्पिक सरकार निर्माणका लागि गठबन्धन बनाएर संयुक्त विज्ञप्ति निकालेर पार्टीको हितविपरीत काम गरेकाले उनलाई कारवाही हुन्छ ।’ सत्ता स्वार्थमा लागेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासनसम्मको कारवाही हुनसक्ने महतोले बताए । ‘उनले विगतदेखि नै पूर्वसपा खेमाको नाममा प्रशिक्षण कार्यक्रम चलाउने लगायतका पार्टी विभाजनका काम गर्दै आएका थिए, अहिले पार्टीको लाइनविपरीत धारणा राखेको तथा पार्टीको निर्णयविपरीत सत्ता सहकार्यका लागि विज्ञप्ति समेत जारी गरेर उपेन्द्रले अक्षम्य अपराध गरेका छन्,’ महतोले भने, ‘पार्टी भनेको एउटा व्यक्ति उपेन्द्र यादवको मात्र होइन, सिंगो पार्टी नै हो ।’
उनले पार्टी विभाजन गरेको अवस्थामा मात्र आफ्नो नामको विज्ञप्ति जारी गर्न पाउने महतोले बताए । जसपाको प्रथम अध्यक्ष महन्थ ठाकुर रहेकाले उनको हस्ताक्षर मात्र पार्टीको आधिकारिक हस्ताक्षर हुने महतोको जिकिर छ । प्रथम अध्यक्ष मात्र कार्यकारी अध्यक्ष हुने, जसपा अहिले तीन दिनमा विभाजन पनि नहुने उनको जिकिर छ । ’पार्टी तीन दिनमा विभाजन पनि हुँदैन, त्यसका लागि निर्वाचन आयोगमा लामो प्रक्रियामा जानुपर्ने हुन्छ, अहिले प्रथम अध्यक्ष ठाकुरले भनेको कुरा मात्र पार्टीको आधिकारिक धारणा हुन्छ,’ उनले भने । ‘वैकल्पिक सरकार बनाउने जसपाको निर्णय होइन, मधेशको माग मुद्दा प्राथमिक लक्ष्य हो,’ महतोले भने,‘उपेन्द्रले जारी गरेको विज्ञप्ति पार्टीको होइन, उनको व्यक्तिगत मात्र हो ।’ कुनै व्यक्तिले भन्दैमा पार्टीको आधिकारिक धारणा नहुने तथा जसपाले वैकल्पिक सरकार नबनाउने जसपाको अहिलेको निर्णय भएको उनले बताए ।
लोकान्तरबाट