गौर, २८ बैशाख । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिएपछि नेपाल सरकारले सीमानाकामा कडाई गरेको छ । नेपालमा पनि दिनप्रतिदिन संक्रमितको संख्या उकालो लाग्ने क्रम नरोकिएपछि कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्नका लागि देशभर पर्सासहित ५८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । जसमध्ये भारतसँग खुला सीमा जोडिएको पर्सा जिल्लासहित अन्य सीमा जोडिएका जिल्लाहरुमा पूर्ण रुपमा निषेधाज्ञा लगाइएको छ । यी जिल्लाहरुमा रहेका अन्तराष्ट्रि सीमानाका पनि बन्द गरिएकोमा सीसीएमसीको फिारिसमा मन्त्रिपरिषदको निर्णयसँगै अब ति नाकाहरु खुला रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । निषेधाज्ञाको समयमा भारतबाट नेपाल आउन चाहनेहरुका लागि सरकारले वीरगञ्जसहित १३ वटा नाका खुला गरेको छ । कोरोना भाइरसको महामारीमा स्वदेशमै फर्किन चाहनेहरुलाई मध्यनजर गर्दै सुरक्षित र व्यवस्थित रुपमा प्रवेश गर्न दिइने शर्तमा सीमा खुला गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीटमार्फत जानकारी दिएका छन् ।
मन्त्री ज्ञवालीका अनुसार सुदूर पश्चिमबाट दार्चुलाको पुलाघाट, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी, र कैलालीको गौरीफण्टा नाकाबाट आवश्यक प्रक्रिया पूरा गरेर नेपाल प्रवेश गर्न दिइने भएको छ । त्यस्तै, बाँकेको जमुनाह नाका, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया नाकाबाट पनि नेपाल प्रवेशको लागि अनुमति दिइएको छ । सीसीएमसीको निर्णय अनुसार नेपाल प्रवेशको लागि अनुमति दिइएका १३ नाकाहरुको नाम तल दिइएको छ ।
१. वीरगञ्ज – पर्सा
२. गौर – रौतहट
३. भित्तामोड –धनुषा
४. गौरीफन्टा – कैलाली
५. जमुनाह – बाँके
६. कृष्णनगर –कपिलवस्तु
७. बेलहिया – रुपन्देही
८. पुलाघाट – दार्चुला
९.झुलाघाट – बैतडी
१०.गड्डा चौकी – कञ्चनपुर
११.जोगबनी – मोरङ
१२. काँकडभिट्टा – झापा
१३. पशुपति नगर – इलाम