गौर,२९ बैशाख । मंगलवार बिहान करिब १० बजे २८ बर्षीय चन्दन ठाकुर हतास अनि निरास मुद्रामा गौरको कोभिड अस्पताल परिसरमा भुँइमै बसेका थिए । उनको आँखा रसाएको थियो । यमुनामाई गाउँपालिकाको झुनाखुनावा बस्ने ठाकुरको श्रीमती बिगत ३ दिनदेखि गौर अस्पतालको कोभिड विशेष अस्पतालमा मृत्यू संग संघर्ष गरिरहेकाले उनी चिन्तामा डुबेका छन् । अस्पताल भर्ना भएदेखि नै श्रीमती अक्सिजनाको भरमा बाँचेको ठाकुरले बताए । तर मंगलवार बिहानै चिकित्सकहरुले श्रीमतीको थप उपचारको लागि बाहिर लग्न उनलाई सुझाए । त्यसपछि उनी थप चिन्तित भए । अस्पतालमा भेन्टिलेटर तथा जनशक्ति नरहेका कारण चिकित्सकहरुले उनलाई थप उपचारका लागी बिरगंज पठाउन सुझाव दिएको थियो । गौरको कोभिड अस्पतालबाट रेफर भएर बिरगंज जाने क्रममा नै सोमवार रौतहटमा एक बिरामीको ज्यान गयो । संक्रमण भयावह रुप लिइसक्दा समेत गौर अस्पतालमा निर्माण गरिएको कोभिड अस्पतालमा उपकरण त्यतिकै थन्किएको छ । अनुभवी जनशक्ति छैन । गौर अस्पतालको माथिल्लो तलामा भेन्टिलेटर र आइसीयु बनाएको छ । तर जनशक्ति नहुँदा सो उपकरणहरुको प्रयोग हुन नसकेको चिकित्सक बताउँछन् । १० बेड क्षमताको सो आइसीयु र ४ ओटा भेन्टिलेटर संचालन हुन नसक्दा कोभिड संक्रमण भएकाहरुको अकालमै ज्यान गुमानु परेको छ । कोभिडअस्पतालमा अक्सिजनबाहेक अन्य कुनै उपचार नपाउँदा बिरामीले ज्यान गुमाउन थालेको स्थानीयको आरोप छ । अस्पतालमा बिगत ४ दिनमा ८ जनाले ज्यान गुमाउनु परेको छ । गौर अस्पताल प्रशासनले जनशक्ति नहुदा समस्या भएको जनाएको छ । अस्पताल प्रमुख डक्टर कृष्ण साहले अस्पतालमा प्यारेमेडिक्स, एनेस्थेसिया लगायातका जनशक्तिको अभाव हुदा भएको उपकरण समेत संचालनमा ल्याउन नसकिएको बताएका छन् । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले अस्पतालमा अभाव जनशक्ति पूर्ति गर्न लागिपरेको बताए । उनले चाँडै अस्पतालले जनशक्ति पाउने पनि बताए । उनका अनुसार जनशक्ति नै पाइरहेका छैन । यद्दपी हामी जनशक्तिको व्यवस्थापनमा जुटेका छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here