
फुस्रा कपाल अनि फाटेका लुगासँगै धुलोमा खेल्दै गरेको लगभग ७ बर्षदेखि १४ बर्ष उमेर समुहका बालबालिकाहरु खेलिरहेको दृश्य देख्दा मनमा कौतुहलता जाग्नु स्वाभाविक नै हो । लगभग ११ बजेको समयमा ती बालबालिकाहरु आफ्नै सुरमा खेलिरहेको दृश्यले आज सार्वजनिक विदा त होइन भन्ने आशांका गरायो मलाइ । तर मलाई थाहा छ आज विदा छैन किनकी म आफैले १ घण्टा अघि मात्र छोरीलाई विद्यालयसम्म पुर्याएर फर्किएको थिए । यति बेला विद्यालय उमेरका ति बालबालिकाहरु विद्यालयभित्र आफ्नो उज्जवल भविष्य निर्माणमा तत्लीन हुनु पर्नेमा धुलोमा देखिरहदा म मा कौतुहलता जाग्नु सायद उपयुक्त नै थियो होला । आज भन्दा ४ महिना अगाडी रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ अन्र्तगत गैडाटार पहाडी फेदीमा देखिएको दृश्य हो यो । सा—साना झुपडी अनि खरका छानो केही घरहरुमा टायल लगाएका दृश्यहरुसँगै बालबालिकाहरु भने आ—आफ्नै काममा ब्यस्त हुने गरेका छन । गरिव , अशिक्षित अभिभावक अनि बालबालिकाहरुलाई विद्यालय भन्दा पनि घरधन्दा तथा घाँस , दाउरा , बाख्रा चराउनु उपयुक्त ठान्ने समाजमा हुर्किएका कलिला विद्यालय उमेरका बालबालिकालाई के थाहा आफ्नो भविष्य निर्माणको पहिलो प्राथमिकता शिक्षा नै हुन सक्छ भन्ने । विहान चाडै उठ्छु , कुवामा पानी लिन जान्छु अनि थाल भाडा माझ्छु र जंगल जाने गरेको सोही स्थानका एक १० बर्षिय बालिका भक्ति माया बज्युले बताइन । आफु दिनभरि बाख्रा चराउने अनि भाइहरु हेर्नुका साथै घरका कामहरु गर्ने गरेको उहाको भनाइ रहेको छ । बालिकालाई हजुरको बुवा कहा जानु भयो त भन्ने प्रश्न गर्दा उनले भनिन ः हाम्रो बा त काम गर्न गाको छ , राती आउँछ , भरे बा ले चामल ल्याउछ मलाइ बाख्रा चरा भनेको छ भनेर मायालु स्वरमा आफ्नै तामाङ भाषाको लवजमा डराइ डराइ मलाई उत्तर दिइन । अनि मनभित्र खै कहिलेसम्म मेरो मुलुकका यस्ता गरिव , असाय अनि दुखिहरुको पनि सुखका श्वास फेर्ने दिन आउला ? भन्ने प्रश्न उब्जियो । उनीसँगै ५÷६ जना अन्य बालबालिकाहरु पनि खेल्दै थिए । सबै जनाको एकै किसिमका उत्तर पाए । एक दिन मजदुरी नगए उनीहरु बेलुका भोकै सुत्नु पर्ने परिस्थिती उनीहरुमा थियो । उनीहरुको त्यो परिस्थितीले मेरो मनमा पनि कता कता पिडाको महसुुस भयो । त्यतिकैमा सर मलाई पनि पढाउ न भनेर भक्ति माया बज्युले मलाई अनुरोध गरिन । म झस्किए अनि सोधे , स्कुल कहिल्यै गएकी छैनौ । उनको उत्तर थियो, पैसा छैन , पढन पैसा धेरै लाग्छ , भात त छैन घरमा कसरी पढनु ? म त अस्तिनै काठमाडौमा इट्टा बनाउने ठाउँमा काम गर्न गाको थियो । सरहरुले स्कुलमा भर्ना गरेको थियो । स्कुलमा फिस , ड्रेस किन्नु पर्ने , पैसा छैन त्यसैले छाड्यो । यो उत्तरले मलाइ अझ केही बुझ्ने कोतुहुलता बढ्यो । १ बर्ष अगाडी मात्र बालबालिकाहरुको संरक्षण गर्दै आएको सिविन नेपाल भन्ने संस्थाले काठमाण्डौस्थित एक इट्टा उद्योगमा मजदुरी काम गरिरहेको अबस्थामा भेटिएपछि बज्युलाई सो संस्थाले रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ पहाडी फेदीमा रहेका अभिभावकलाई जिम्मा लगाई जनहित सामुदायिक आधारभुत विद्यालयमा भर्ना गरिदिएका थिए । तर संस्थाले निरन्तर निगरानी बढाउन नसक्दा उनीहरुको अध्ययनमा कठिनाइ परिस्थिती सिर्जना भएको पाइएको हो । आफुहरुलाई पढ्न विद्यालय जाने इच्छा भएको उनीहरुले बताएका छन । स्कुल पढाउने मन छ तर जे गर्नु पैसाले गर्छ बज्युका अभिभावक कमान सिंह बज्युले बताउनुभयो ।
आफ्ना बालबालिकाहरुलाई पढाउन धेरै प्रयासहरु गरेको अभिभावकहरु बताउँछन तर आफुले कमाएको रकमले हातमुख जोड्न समेत नपुग्ने भएकाले पढाउन नसकेको उनीहरुको भनाइ रहेको छ । धुलोमैलो कपडा लगाएर विद्यालय जाँदा शिक्षकहरुले गाली गर्ने नयाँ विद्यालय पोशाक किन्ने पैसा आफु सँग छैन के गरु अभिभावक बज्युले बताए । जब विद्यालयमा परिक्षा शुरु हुन्छ आफुलाई निन्द्रा नलाग्ने अर्का अभिभावक ज्ञानलाल वाइबाले दुखेसो पोखे । सामुदयिक विद्यालयमा विभिन्न शिर्षकमा शुल्क तिर्नु पर्छ , कापी कलम खरिद गर्न नसक्ने अबस्थामा कसरी शुल्क तिर्नु उहाको भनाइ रहेको छ । विद्यालयका शिक्षकहरुसँग धेरै पटक कुरा गरेको तर विद्यालयको नियममा हिडुनु पर्ने शिक्षकहरुले बताउँदै आएको वाइबाले बताउनुभयो । रौतहटको चन्द्रपुरमा मात्र होइन यो घटना रौतहटका अधिकांस गरिव बस्तिहरुमा देखिने गरेको छ । यसको दिर्घकालिन सामधानका लागी नेपाल सरकारको ठोस कदम चाल्नु पर्ने रौतहट जिल्ला शिक्षा समन्वयन समितिका प्रमुख रामविनय सिंहको सुझाव रहेको छ । नेपाल सरकारले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने घोषण गरेको तर विद्यालयमा आवश्यक दरबन्दि पुरा गर्न नसक्दा निजि स्रोतका शिक्षक नियुक्ती गरि अध्ययन अध्यापन गराउदा केही शुल्क असुल्ने गरेको सिहले स्वीकार्नु भएको छ । रौतहटमा यति नै संख्यामा विद्यालय उमेरका बालबालिकाहरु विद्यालय बाहिर रहेको छ भन्ने एकिन टाढा नभएपनि अधिकांस गरिव दलित असाहय परिवारका बालबालिकाहरु विद्यालय बाहिर नै रहेको शिक्षा विश्लेषक नारायण कार्कीको आंकलन छ ।