ओम प्रकाश यादव
गौर,१ जेठ ।
रौतहटमा कोरोना संक्रमणबाट एकै दिन १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण आज मात्र रौतहटमा एक स्वास्थ्यकर्मी सहित १० जनाले ज्यान गुमाएका छन । कोरोनाबाट जिल्लामा मृत्यु भएको यो अहिलेसम्मकै सबभन्दा बढी हो । पछिलो २४ घण्टामा रौतहट घर भएका ५ जनाको जिल्लामै र ५ जनाको जिल्ला बाहिर गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । मृत्यु हुने स्वास्थ्यकर्मीमा माधवनारायण नगरपालिकाको गढो स्वास्थ्य चौकीका प्रमुख फेकन ठाकुर रहेका छन् । कोभिड–१९ बाट संक्रमित भई नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा ४८ बर्षिय उनको गएराति मृत्यु भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएको छ । त्यस्तै कोरोनाबाट बौधीमाई नगरपालिका ४ घर भएका ४० वर्षिया महिला हस्मा ताराको गौर अस्पतालको कोभिड वार्डमा उपचारको क्रममा हिजो साँझ मृत्यु भएको छ भने फतुवा विजयपुर नगरपालिका ३ का ५० वर्षिय असर्फि बैठाको आज गौरमा मृत्यु भएको छ ।
यसैगरी कोरोनाकै कारण चन्द्रपुरका ४० बर्षिय धर्म राज रामको भवानी अस्पताल वीरगंज, फतुवा विजयपुर नगरपालिका ८ का ४० वर्षीय अवध बिहारी राउतको नारायणी उपक्षेत्रीय अस्पताल विरगंज, गौर नगरपालिका १ का ५४ वर्षिय इजाजुल मियाको मेघा अस्पताल काठमाडौं, माधवनाराया नगरपालिका १ का ५६ वर्षिय नन्दलाल प्रसाद साहको टिचिंग हस्पिटल काठमाडौं, गरुडा नगरपालिका ५ का ५३ वर्षिय मोतिलाल साह कलवार र बौधीमाई नगरपालिका ७ की ३५ वर्षिय महिला विध्यवती देवीको नारायणी उपक्षेत्रीय अस्पताल विरगंजमा उपचारको क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय गौरले जनाएको छ । यो संगै कोरोना संक्रमणबाट रौतहटमा अहिलेसम्म ४६ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । त्यस्तै जिल्लामा आज मात्र ३७ जना कोरोना संक्रमित थपिएका छन । यो संगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय ७६ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here