ओम प्रकाश यादव
गरुडा, १ जेठ ।
कोरोना महामारी नियन्त्रण गर्ने उद्देश्यले रौतहट प्रशासनले आजदेखी दोश्रो पटक निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्लामा जारी निषेधाज्ञालाई आजदेखी आउँदो जेठ ७ गते राती १२ बजेसम्मको लागि निरन्तरता दिइएको छ । निषेधाज्ञामा अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको छ । तर निषेधाज्ञालाई अवज्ञा गर्ने ५४ वटा सवारी साधनलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । दोश्रो पटक थप गरिएको निषेधाज्ञाको पहिलो दिन आज मात्र निषेधाज्ञा उल्लंघन गर्ने ५४ वटा सवारी साधन र तिन जना मानिसलाई समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले निषेधाज्ञा उल्लघंन गर्ने टिफर ३ वटा, मोटरसाईकल ३८ वटा, जीप–१ वटा, ई–रिक्सा ३ वटा र ट्रयाक्टर ९ वटा समेत गरी जम्मा ५४ वटा सवारी साधनहरु नियन्त्रणमा लिएर कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । निषेधाज्ञा उल्लंघन गरी सवारी चलाउने ३ जना मानिसलाई समेत नियन्त्रणमा लिइएको छ । विश्वमै तिव्र गतिमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञालाई अटेरी गरी सवारी साधन चलाउने तथा विना कारण घर बाहिर निस्कनेहरुलाई पक्राउ गरी रौतहट प्रहरीले धमाधम कार्यवाही गर्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here