जनकपुर, १० जेठ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाज पार्टी (जसपा) को समायोजन कार्य पूरा नहुँदै केन्द्रमा देखिएको विवादले पार्टी फुटको संघारमा पुगेको छ । महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी ओलीको पक्षमा खुलेर लागेपछि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षबीच औपचारिक रुपमा नभए पनि कित्ता काटको अवस्था स्पष्ट रुपमा देखिएको छ । यस केन्द्रीय राजनीतिमा देखिएको फुटको असर प्रदेश २ को राजनीतिमा पनि हुने अवस्थाको सृजना भएको छ। जसपा फुटको संघारमा लगभग पुगेको हुँदा प्रदेश २ को राजनीतिमा पनि असर पर्ने देखिएको छ । प्रदेशमा भने उपेन्द्र यादव समूह बलियो छ । पार्टीको आन्तरिक विवादको कारण ठाकुर–महतो र यादव–भट्टराईले एकले अर्कालाई कारबाही गर्ने स्पष्टीकरण सोध्ने लगायतको स्थिति देखिएपछि अहिले प्रदेशमा तत्कालीन राजपाबाट मन्त्री बनेकाहरुलाई हटाउने तयारी थालिएको बताइएको छ । समाचार स्रोतका अनुसार प्रदेश २ सरकारबाट एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाउने तयारी थालिएको छ । तत्कालीन राजपाबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका जितेन्द्र सोनललाई हटाउन जसपा अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री लालबाबु राउतलाई निर्देशन दिएको स्रोतको दाबी छ ।
त्यसैगरी तत्कालीन राजपाबाटै उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेका सुरेश मण्डल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झालाई पनि हटाउने तयारी रहेको बताइएको छ । राज्यमन्त्री डिम्पल झा नेता अनिल झाकी पत्नी हुन् । यद्यपि, तत्कालीन राजपाबाटै मन्त्री बनेका सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवको पद भने जोगिने भएको छ । उनीहरू दुवैजना अहिले अध्यक्ष उपेन्द्र यादव समूहमा लागेकाले पद जोगिएको बताइएको छ । मन्त्री साह र राय दुवैजना शनिबार उपेन्द्र यादवले बोलाएको कार्यकारिणी समितिको बैठकमा समेत सहभागी भए। उनीहरू कार्यकारिणी बैठकमा सहभागी भएपछि महन्थ ठाकुर पक्ष झस्किएको छ। दुवै जनालाई व्यापक दबाब दिएर रोक्ने प्रयास गरे पनि उनीहरु बैठकमा सहभागी भएको स्रोतले जनाएको छ ।
सप्तरी १ (ख)बाट तत्कालीन राजपाबाट निर्वाचित साह राजेन्द्र महतो कोटाबाट मन्त्री बनेका हुन् । मन्त्री राय भने सर्लाहीका हुन्। उनलाई राजपाले समानुपातिक कोटामा सांसद बनाएको थियो। उनी महेन्द्र राय यादवको कोटाबाट मन्त्री बनेका थिए। तत्कालीन राजपा अध्यक्ष मण्डलका सदस्य रहेका महेन्द्र राय यादव पनि महन्थ ठाकुरको साथ छाडेर उपेन्द्र पक्षमा खुलेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here