काठमाडौं,१५ जेठ । जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । अध्यक्ष ठाकुर नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काटेका छन् । यसअघि जेठ ८ गते सोधेको स्पष्टीकरणको जवाफ नआएको भन्दै स्पष्टीकरण नदिए राजनीतिक दलसम्बन्धी ऐन र जनता समाजवादी पार्टीको विधान अनुसार कारबाही गर्ने पत्रमा उल्लेख गरिएको छ । गत जेठ ८ गते बसेको उपेन्द्र यादव पक्षको बैठकले अध्यक्ष महन्थ ठाकुरलाई पार्टीको निर्णयविपरित ओलीलाई प्रधानमन्त्रीमा आफ्नो दलको समर्थन छ भन्ने पत्र राष्ट्रपति कार्यालयमा बुझाएको विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । वरिष्ठ नेता राजेन्द्र महतोलाई भने संसदीय दलको विधान नै नबनी आफू संसदीय दलको नेता चुनिएको भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको विषयमा स्पष्टीकरण माग गरिएको थियो । नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारले बनाएको संविधान संशोधन कार्यदलमा बसेको विषयमा स्पष्टीकरण माग गर्ने यादव समूहको निर्णय थियो । तर उनीहरुले स्पष्टीकरण नपठाएपछि शनिबार केन्द्रीय कार्यालयबाट पत्र पठाएको हो ।