रौतहट, १६ जेठ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण रौतहटका पाँचजनाको मृत्यु भएको छ । चितवनको भरतपुरमा उपचारका क्रममा देवाही गोनाही–४ का ४५ वर्षीय पुरुष तथा कटहरिया नगरपालिका–३ की ५० वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै वीरगञ्जमा उपचारको क्रममा माधवनारायण–८ का ६० वर्षीय र गढीमाई–४ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी हेटौडामा चन्द्रपुर–१ का ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । योसँगै कोरोना संक्रमणका कारण हालसम्म रौतहटका ९४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा रौतटहमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौर अस्पतालको पीसीआर ल्याबमा ७१ जनाको नमुना परीक्षण गर्दा १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यस्तै रौतहटमा थप १४ जना संक्रमणमुक्त भएका छन् ।