जनकपुर,१६ जेठ । प्रदेश २ सरकारले चालु आर्थिक वर्ष भन्दा पनि कम बजेट उपलब्ध गराएको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएको छ । संघीयता कार्यान्वयनको सन्दर्भमा प्रदेश र स्थानीय तहलाई कम्तीमा ६० प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा नगरेको प्रदेश २ सरकारको भनाइ छ । ‘प्रदेश र स्थानीय तहलाई कम्तीमा ६० प्रतिशत बजेट विनियोजन हुनुपर्नेमा संघलाई बढी विनियोजन गरी चालु आर्थिक वर्ष २०७७/७८ मा भन्दा पनि कम वित्तीय हस्तान्तरण गरिनु सिद्वान्त विपरित देखिन्छ,’ प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बजेटप्रति आफ्नो लिखित प्रतिक्रिया सार्वजनिक गर्दै भनेका छन् । उनका अनुसार चालु आवमा प्रदेशलाई ४.३१ प्रतिशत बजेट दिए पनि आगामी आवको लागि ४.१२ प्रतिशत मात्रै दिइएको छ । कुल बजेट १६ खर्ब ४७ अर्ब ५७ करोडमा प्रदेशका लागि ४.१२ र स्थानीय तहका लागि ६.६५ प्रतिशत बजेट मात्रै छुट्याइएको मन्त्री यादवले बताएका छन् । संघीय सरकारले शनिबार प्रस्तुत गरेको बजेटबारे मन्त्री यादवले आइतबार १९ बुँदे लिखित प्रतिक्रिया सार्वजनिक गरेका छन् । जसमा ११ बुँदे विरोध गरेका छन् भने ८ बुँदामा सकारात्मक भनेका छन् । वितरणमुखी कार्यक्रमले रोजगारी सृजना गर्न नसकिने जनाउँदै उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण लगायतका विभिन्न कार्यक्रम प्रदेश र स्थानीय सरकारले सञ्चालन गर्न सकिने भए पनि केन्द्रमै राखेकोमा आपत्ति जनाए । कृषि, लघु, घरेलु तथा साना उद्यम कार्यक्रम संविधानतः प्रदेश र स्थानीय तहको कार्य जिम्मेवारीमा पर्नेमा केन्द्र सरकारले कार्यक्रममा बजेट विनियोजन गर्नु गलत रहेको उनको भनाइ छ । सुरक्षित नागरिक आवास कार्यक्रममा विनियोजित रकम ३ अर्ब ५० करोड न्यून रहेको र यस्ता कार्यक्रम प्रदेश सरकारबाट सञ्चालन हुँदै आएकाले केन्द्रीय कार्यक्रममा राख्नुभन्दा वित्तीय हस्तान्तरण मार्फत प्रदेश सरकारमा आउनुपर्नेमा उनको जोड छ । बजेटमा कोरोना उपचार नियन्त्रण तथा रोकथाम केन्द्रित बजेट र कर छुट सम्बन्धमा गरेको व्यवस्थालाई सकारात्मक भन्दै मन्त्री यादवले विद्युतीय सवारी साधन प्रयोगमा प्रोत्साहन, निजी क्षेत्रको सुविधामा बढोत्तरी, निःशुल्क कोरोनाविरुद्धको खोपको सुनिश्चितता गर्नुलाई सकारात्मक उल्लेख गरेका छन् ।कोरोना महामारी नियन्त्रणमा खटिएका जनशक्तिलाई प्रोत्साहन कार्यक्रम, अक्सिजन उद्योगको स्थापनामा प्रोत्साहनलाई पनि मन्त्री यादवले सकारात्मक भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here