अशोक पहाडी,रौतहट,२० जेठ । जिल्ला सदरमुकाम गौरमा रहेको सरकारी अस्पतालमा रहेको आईसीयू र भेन्टिलेटर सेवा संचालनमा नआउदा सो सेवा लिनका लागि जिल्ला बासीले जिल्ला बाहिर जानुपर्ने बाध्उता रहेको छ ।
जनशक्ति अभावमा जिल्ला अस्पताल आईसीयू र भेन्टिलेटर सेवा सञ्चालनमा आउन नसकेको हो । सो अस्पतालमा रहेको १० बेडको आईसीयू र ४ वटा भेन्टिलेटर मेसिन अस्पतालको एउटा कोठामा थन्किएको छ  । जिल्लामा कोरोना संक्रमितको स्वास्थ्य अवस्था जटिल हुँदा धमाधम बाहिर रेफर गर्न थालिएको छ ।
अस्पतालमा ९ जना चिकित्सकको दरबन्दी रहेकामा हाल एक जना मात्र कार्यरत रहेका कारण आईसीयू र भेन्टिलेटर संचालनमा आउन नसकेको अस्पताल विकास समितिका उपाध्यक्ष ओमप्रकाश मधेसियाले बताए । दरबन्दीअनुसार चिकित्सक भइदिए आईसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याइने अस्पताल प्रमुख डा. कृष्ण साहले तराई एक्सप्रेसलाई बताए । ‘चिकित्सक पठाइदिनुस् भनेर हारगुहार गर्दा पनि मन्त्रालयबाट कुनै सुनुवाइ भएन,’ उनले भने, ‘कोभिडको महामारीका बेला बिरामी गम्भीर बनेपछि बाहिर रेफर गर्नुको विकल्प रहेन ।’
अस्पतालमा भएका यी सुविधा प्रयोग हुन नसक्दा अस्पतालमा अक्सिजनबाहेक अन्य कुनै उपचार नपाउँदा बिरामीले ज्यान गुमाएको स्थानीयको आरोप छ ।
साहका अनुसार प्रदेश सरकारलाई मेडिकल अफिसर, पारामेडिक्स लगायतका ४० कर्मचारी माग गर्दा २३ जना मात्र थप गर्न सहमति दिएको छ । सोहीअनुसार आवश्यक कर्मचारी माग गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here