रौतहट,२० जेठ । प्रदेश २ मा नेकपा माओवादी केन्द्रबाट निष्कासित तीन सांसदहरूले आफूहरू पार्टीमै रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । माओवादी केन्द्रको तर्फबाट रामचन्द्र मण्डल धनुषाको निर्वाचन क्षेत्र नं. १ (ख) र कुन्दनप्रसाद कुशावाहा रौतहट निर्वाचन क्षेत्र नं. ३ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएको थिए । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले खारेज गरिदिएपछि तीनजना सांसदहरू रामचन्द्र मण्डल, कुन्दन प्रसाद कुशवाहा र महम्मद समीर प्रधानमन्त्री ओली नेतृत्वको एमालेतर्फ लागेका थिए । अर्को पार्टीमा लागेपछि उनीहरूलाई माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको थियो । महम्मद समीर बाराबाट समानुपातिक बन्द सूचीमा प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए । उनीहरू तीनै जना अर्को पार्टीमा लागेको आरोपमा कारबाहीमा परेका हुन् । मण्डल, कुशवाहा र समीरले आफूहरू माओवादी केन्द्रमै रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनीहरूले नेपालको संविधानको धारा १७८ बमोजिम योग्यता पूरा गरी प्रदेश सभा सदस्य पदमा निर्वाचित भएको भन्दै संविधानको धारा १७७ बमोजिम निर्वाचित भएको मितिले ५ वर्षसम्म आफूहरू पद मै रहने संवैधानिक व्यवस्था कायम रहेको जिकिर गर्दै गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here