रुपेन्द्र पटेल
चन्द्रनिगाहपुर, २६ जेठ ।
रौतहट जिल्लाको गुजरा नगरपालिका अन्तर्गत पर्ने बकैया खोलाबाट नियम बिपरित तिब्र रुपमा नदी जन्य बस्तु उत्खान्न र भण्डारण गर्दा समेत नगरपालिका तथा स्थानीय प्रहरी प्रशासन मौन बसेका छन् । नगर प्रमुख सन्तलाल चौधरी र निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनोद जयसवालको मिलेमत्तोमा आभा कन्स्ट्रक्सन नामक ठेक्केदार कम्पनीले नियम बिपरित खोलामा स्काभेटरको प्रयोग गरी नदी जन्य बस्तु उत्खनन् तथा भण्डारण गर्ने गरेको छ । नगरपालिकाले अमानतमा खोलाको राजश्व अशुल्दै आएको भएपनि आभा कन्स्ट्रक्सनसँग मोटो रकम लिएर स्काभेटर प्रयोग गरी नदी जन्य बस्तु उत्खनन् गर्न अनुमति दिएको स्थानियले बताए । नगरपालिकाले अमानतमा राजश्व अशुल्न पाउने नियममा रहेपनि स्काभेटरको प्रयोग गरी नदी जन्य बस्तु उत्खनन् गर्न नपाउने जानकारहरु बताउछन । त्यस्तै खोलाको ठेक्का नलागे पनि आफूहरुले नगरपालिकाबाट स्काभेटर प्रयोग गरी नदी जन्य बस्तु उत्खनन् तथा भण्डारणको लागि अनुमति लिएको आभा कन्स्ट्रक्सनका संचालक किशोर ठाकुरको भनाई रहेको छ । आभा कन्स्ट्रक्सनका संचालक ठाकुरले नगरपालिकाबाट अनुमति लिएको दाबी गरे पनि पुर्व प्रतिनिधी सभा सदस्य तथा जनता समाजवादी पार्टीका नेता गोविन्द चौधरीको ठाडो आदेशमा नगर प्रमुख सन्तलाल चौधरीले खोलामा स्काभेटर प्रयोग गर्न मौखित अनुमति दिएको समाचार श्रोतले जनाएको छ । यता नगर प्रमुख सन्तलाल चौधरीले यस विषयमा आफूलाई केही थाहा नभएको र आभा कन्स्ट्रक्सनको बारेमा अनविज्ञ रहेको प्रतिक्रिया दिएका छन् । यसै विषयमा गुजरा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनोद जयसवालसँग बुझ्दा आफूले खोलामा स्काभेटर प्रयोगका लागि अनुमति नदिएको बताए पनि बिगत २ साता देखि निर्वाद रुपमा स्काभेटर प्रयोग हुदैँ आएको स्थानीय बासिन्दा विश्वनाथ चौधरीले बताएका छन् । उनका अनुसार २ साता देखि निरन्तर स्काभेटर चल्दै आएको र त्यति मात्रै नभएर प्रति ट्याक्टर २ देखि ३ सम्म पैसा लिएर मिक्स ग्राभेल लोड समेत गर्दै आएको बताए ।
आभा कन्स्ट्रक्सनले खोलाबाट निकालेको मिक्स ग्राभेल गुजरा नगरपालिकाका विभिन्न स्थानमा भण्डारण गर्ने गरेको छ ।
त्यति मात्र नभएर इलाका प्रहरी कार्यालय फतुवा विजयपुरका प्रहरी निरीक्षक बिष्णु बिकले नियम बिपरित हुदै गरेको खोला उत्खनन रोक्नुको साट्टो माथिको आदेश भन्दै ठेक्केदारहरुसँग पैसा अशुल्ने गरेको स्थानीय बासिन्दाको भनाई रहेको छ । प्रहरी निरीक्षक बिक अन्यत्र गस्ती गर्न छोडेर केही दिन देखि निरन्तर खोलै खोला धाउने गरेको सिम्री गाउँका बासिन्दाले जनाएका छन् ।
प्राकृतिक रुपमा पाइने श्रोतको उचित व्यवस्थापन नगरे, जथाभावी उत्खनन तथा संकलन गरेमा सो क्षेत्र वातावरणीय रुपमा प्रभावित हुन सक्नेछन् । नदीको वहाव परिवर्तन, खोलामा आउने बाढी गाउँमा पस्ने खतराका साथै अन्य बिभिन्न सामाजिक सम्पत्तिहरुमा हानी नोक्सानी हुन सक्ने अनुमान हामीले सहजै लगाउन सक्छौ । यी सबै कुराको ज्ञान हुदाँ हुदैँ पनि स्थानीय तह, प्रहरी प्रशासनको लापरवाहीका कारण वर्षेनी खोला छेउका जनताले यस्ता बिपत्तीहरुको सामना गर्नु परेको छ, खोलाबाट जथाभवी तरिकाले नदी जन्य वस्तु उत्खनन गर्दा खोलामा आउने बाढीका कारण कयौं परिवार घरवार बिहीन हुन पुगेका छन् । यस्तै नियती रौतहट जिल्लाका बकैया खोला छेउछाउका सर्वसाधारणले भोग्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here