अशोक पहाडी / बिजयपुर,९ असार ।
दलित तथा विपन्नलाई सुविधा सम्पन्नलाई आवास दिने सरकारको जनता आवास योजनाका कारण रौतहटका दर्जनौ दलितलाई बिचल्ली बनाएको छ ।
रौतहटको फतुवा बिजयपुर नगरपालिका वडानं ९ खोरिया टोलका २२ घर परिवारलाई जनता आवास कार्यक्रमले बिचल्ली बनाएको हो । ४ बर्ष पहिला बनाउन सुरु गरेका घरको काम हाल सम्म सम्पन्न नभएका कारण सो बस्तिका २२ घर परिवारको बिचल्ली भएको हो ।
जनता आवास कार्यक्रमले गाउमा पक्की घर बनाइदिने भएपछि खुशि भएका सो बस्तिका दलित परिवारलाई यो बर्षाका बेला कसरी जिउ जोगाउने भन्ने चिन्ताले सताउन थालेको छ ।
ठेकेदार अब्राहुल हकले २२ वटा पक्की घर बनाउनका लागि ठेक्का लिएकोमा उनी घर निर्माणको काम बिचैमा छाडेर हिडेका कारण आफुहरुको बिचल्ली भएको स्थानीय राजेन्द्र रामले तराई एक्सप्रेसलाई बताए । ठेकेदार हकले घर निर्माणको काम सम्पन्न भएको भन्दै रकम निकासा गरेर हिडेपछि आफुहरु फुसको घरमा प्लास्टिक लगाएर बर्षाको पानी र हिंउदको सितहरी र घामबाट जोगिदै आएको रामको भनाइ रहेको छ । स्थानीय बासिन्दा राकेश माझीका अनुसार संबिधानसभा सदस्य जितेन्द्र यादव र ठेकेदार हकका कारण आफुहरुले सरकारले जनता आवास मार्फत बनाइदिएको घर ४ बर्ष सम्म पनि बन्न नसकेको हो ।
मुसहर र चमारको बस्ती रहेको खोरिया टोलका अधिकांस फुसको छाप्रोमा सिधा उभिएर पस्नै नसक्ने अवस्था रहेको छ । सरकारले बनाइदिएको घर निर्माणको काम समेत ठेकेदारले स्थानीयको आंखामा छारो हालेर गुणस्तरहिन काम गरेको उनीहरुको भनाइ रहेको छ । सो टोलका अधिकांस दलितले सरकारले बनाइ दिएको पक्की घरको काम बिचैमा ठेकेदारले छाडेर भागेपछि त्यही घरको जस्ता निकालेर आफ्नो घरमा हालेकाछन् । जनता आवासको २२ घर बनाउन ठेक्का लिएका हाकले पैसा किस्ता किस्ता आएका कारण आफुले पनि काम किस्ता किस्तामा गरेको र अव फेरी बजेट आएमा आफुले काम पुर्ण रुपमा गर्ने तराई एक्सप्रेसलाई बताए ।
सो बस्तिका विकास माझीले आफुले पक्का घरमा बस्न पाउने आशमा भएको फुसको घर पनि राम्रोसंग टालटुल नगरेको र अहिले आएर पक्की घरनै अलपत्र परेपछि यो बर्षाका बेला बालबच्चा जोगाउनै मुस्कील परेको गुनासो गरे । स्थानीय कुसुमी देबी माझीले आफुहरुको बिजोग हर्नका लागि कुनै नेता नआएको दुखेसो गरीन् । अहिले पानी पर्नें सिजन छ ,फुसको घरमा पानी चुहिएर बस्न समस्या परेको भएपनि आफुहरुको समस्या कसैले नसुनेको उनको दुखेसो छ ।
दिनभरी अर्काको घर खेतमा ज्याला मजदुरी गरेर खाने उक्त बस्तीका दलित समुदायका लागि आएको जनता आवास कार्यक्रमका घर निर्माण बिचैमा अलपत्र पारिएको बिषयमा फुतुवा बिजयपुर नगरपालिकाले समेत कुनै चासो नदिएकाले यो बर्षाका बेलामा आफुहरुलाई फुसको घरमा सुत्न त परैको कुरा पकाएर खान समेत समस्या हुने स्थानीय बलिराम माझीको भनाइ रहेको छ । २०७८ असार ९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here