चन्द्रपुर, १५ असार । नाला निर्माणको लागि ल्याइएको समाग्री नहटाउदा रौतहटको चन्द्रपुर नगरपालिकाको मुख्य चोकमा दुर्घटनाको खतरा बढदै जान थालेको छ । नगरपालिकाको बजेट बाट बनेको नाला निर्माण भएको भएपनि नाला बनेको स्थानमा ह्युम पाईप तथा अन्य समाग्री राखिएका कारण दुर्घटनाको खतरा बढेको स्थानीय बासिन्दाले बताएकाछन् ।
ती निर्माण समाग्री नहटेका कारण चन्द्रनिगाहपुर स्थित नेपाल बैंकको अगाडी सवारीको चाप हुने गरेको छ । नगरपालिकाले उपभोक्ता समिति मार्फत बनाएको नालाको ढकन समेत नहालेका कारण पसलहरुमा उपभोक्ता जाने अवस्था नरहेको व्यापारी शम्सेर सुनारले गुनासो गरेका छन् । समयमै काम नगरेका कारण समस्या उत्पन्न भएको स्थानीयको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिकाको मुख्य चोकमै अवस्था लथालिङ रहदा समेत नगरपालिकाले खासै चासो नदिएको स्थानीय व्यापारीको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले नालामा ढकन हाल्न र बाटोमा रहेको निर्माण समाग्री छिटो हटाउनका लागि आफुले उपभोक्ता समितिलाई निर्देशन दिएको तराई एक्सप्रेसलाई बताए ।
नेपाल बैंकमा आउने सेवाग्रहीले ल्याउने सवारी र बाटोमा हिडने सवारीको चापका कारण सो स्थानमा दुर्घटनाको खतरा बढेकोले सम्बन्धीत निकायले काम छिटो सकाउन पहल गर्नुपर्ने स्थानी व्यापारीहरुको भनाइ रहेको छ ।
भिडभाड हुने स्थानमा उपभोक्ता समितिले काम चाडो चाडो सकाउनुपर्नेमा झन ढिला गरेको स्थानीयको भनाइ रहेको छ । नाला निर्माण भएको भएपनि त्यसमा ढकन नहालेका कारण स्थानीय व्यापारीहरु आफै ढकन बनाएर हाल्न बाध्य भएको छन् । २०७८ असार १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।