गौर,१९ असार । जिल्ला सदरमुकाम गौरमा समान्य पानी पर्दा समेत मेन बाटोमा पानी जम्ने गरेको छ । केही दिनदेखीको वर्षाका कारण गौरको मेन बाटोमा पानीको सतह बढदै जान थालेको छ । अविरल वर्षासंगै पछिल्लो दुई दिनदेखि लगातार बढ्दै गएको रौतहटको नदीहरूमा पानीको सतह शुक्रबारदेखि क्रमशः घट्न थालेको छ । जिल्लाको पूर्वी भेग स्थित बागमती र पश्चिम लालबकैया नदीका साथै साना साना खोलाहरूमा समेत शुक्रबार दिउसो देखि पानीको सतह घटिरहेको देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार बागमती नदीमा पानी को सतह ६५० मिलिलिटर र बकैया नदीमा पनि अन्दाजी साढे ५ फिट पानीको सतह बढेको थियो । तर शुक्रबार बिहानको मापन अनुसार बागमती ५५० मा मिलिटर र लालबकैया नदीमा अन्दाजी ५ फिट पानीको सतह रहेको रौतहटका सिडिओ इन्द्रदेव यादवले तराई एक्सप्रेसलाई बताए । अन्य खोलाहरू चांदी, झांझ, गुजरा लगायतमा पानीको सतह घटिरहेको अवस्था रहेको सिडिओ यादवले जानकारी दिएका छन् । बागमती नदीमा ५०० मिलिमिटर भन्दा बढी पानीको बहाव देखिएमा त्यसलाई खतराको संकेत मानिने हुदा अब क्रमशः खतरा कम हुदै गएको छ । यसैबीच लगातारको बाढीले क्षतिग्रस्त बनाएको बागमतीको १ नम्बर स्पर नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बिहिबार राती मर्मत गरेको छ । राजदेवी नगरपालिका ९ स्थित कटान हुन लागेको स्पर संयुक्त टोली र स्थानीय मिलेर बाँस पाईलिङ गरी बोराभित्र बालुवा राखेर तत्काल मर्मत गरेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धि विक्रम शाहले जानकारी दिए । नदीहरूमा पानीको बहाव कम भएपछि जिल्ला सदरमुकाम गौर स्थित मुख्य बाटोमा अदालतको अगाडि डेढ फिट पानी जमेको छ । मुख्य बाटोमा पानी जमेकाले आवतजावत गर्न ठुलो कठिनाइ भइरहेको स्थानीय पत्रकार आरएन साहले बताएका छन् । जिल्लाको पूर्वीभेगमा बागमती र पश्चिममा लालबकैया नदीमा ठुलो बाढी आएमा दक्षिणी भेगका केही गाउँ र सदरमुकाम गौर डुबानमा पर्ने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here