रौतहट,२६ असार । भारततर्फका २६ र चीनतर्फका ७ मौसमीसहित ९ नाकाबाट नेपालमा मानिसको आवतजावत तथा सामान ओसारपसार हुन्छ । खुल्ला सीमाबाट मानिसहरूको आवतजावतसँगै वार्षिक अर्बौँको अवैध सामग्री भित्रिने गरेको छ । सरकारले रोक्नका लागि चालिएका कदम प्रभावकारी भएको दावी गरे पनि परिणाम उत्साहजनक देखिँदैन । विदेशी मुलुकबाट हुने आयात निर्यात व्यवस्थित गर्न र अवैध तस्करी नियन्त्रणका लागि चीन र भारतसँगका नाकासहित अन्तर्राष्ट्रिय विमानस्थलमा गरी ३६ वटा भन्सार कार्यालय छन् । भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत परिचालन गरेर अवैध तस्करी रोक्नका लागि सबै स्रोतसाधन परिचालन गरिएको बताउनुभयो । खुल्ला सीमाना भएका ठाउँमा ४० भन्दा बढी छोटी भन्सार स्थापना गरिएका छन् । यस अघि भएका ९० वटा छोटी भन्सार भएका ठाउँमा अहिले सशस्त्रको बोर्डर आउट पोष्ट (बीओपी) राखिएको छ । भारतसँग सीमा जोडिएका २ सय १७ र चीनसँग जोडिएका ७ वटा नाकामा बीओपी छन् । सशस्त्र प्रहरी प्रवक्ता, सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालका अनुसार अवैध मालसामान आयतका लागि त्यहाँबाट नियमित गस्ती हुने गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा भन्सार चोरी निकासी सम्बन्धी १० हजार ५ सय ३३ मुद्धा परेका थिए । नाकाबाट बरामद भएका सामग्रीको लिलामीबाट १ अर्ब १२ करोड २३ लाख रुपैयाँ बराबरको राजश्व सङ्कलन भयो । चालु आर्थिक वर्षको ११ महिनामा मुद्दाको संख्या साढे ११ हजारभन्दा धेरै छ । यस्को अर्थ सरकारले निगरानी बढाएको मान्नुपर्ने भन्सार वभागका निर्देशक पुण्य विक्रम खड्काको भनाइ छ । भारतसँगको झण्डै बाह्र सय किलोमिटरको खुला सीमानालाई व्यवस्थित गर्न र तस्करी नियन्त्रणका लागि सरकारलाई पूर्वाधार, जनशक्ति लगायतको चुनौती छ । सीमाबाट हुने अवैध तस्करी रोक्न अर्थमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय राजश्व चुहावट नियन्त्रण समिति र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा राजश्व चुहावट नियन्त्रण समिति जिल्लामा छ ।