वीरगञ्ज,१ साउन । पर्सा प्रहरीले बालविवाह गर्ने गराएको अभियोगमा तीन जनालाई हिरासतमा लिएको छ । पर्सा, पकाहामैनपुर गाउँपालिका– १ धोरे बस्ने २४ वर्षीय विशाल सहनी निजका बुवा ६५ वर्षीय ठग सहनी र बाराको प्रसौनी गाउँपालिका– ५ बेल्हिया पनटोका बस्ने ४८ वर्षीय महेश सहनी पक्राउ परेका छन् । विशाल बेहुला हुन् । स्थानीय १८ वर्षीया एक किशोरीसंग विशालको बिहे गत असार १७ गते धोरे गाउँ नजिकै रहेको भुटनदेवी माई मन्दिरमा सम्पन्न भएको थियो । किशोरीले बालविवाह गर्न नचाहेको तर अभिभावकले जबरजस्ती विवाह गराएपछि किशोरी प्रहरी सम्पर्कमा पुगेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । बाल विवाह गर्ने गराउने कार्यमा संलग्न भएको पाइएकोले तीनै जनामाथि अनुसन्धान भइरहेको उनले बताए । मुलुकी अपराध संहिताको दफा १७३ मा बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराएमा त्यो विवाह स्वतः बदर हुने र अभियुक्तलाई ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here