जनकपुर,१ साउन । गत फागुन ३ गते प्रदेश सरकारले ३ वर्षे कार्यकाल पूरा गरेको अवसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचारप्रति शून्य सहनशीलताको वाचा गरेका थिए । उनले भनेका थिए, प्रदेश २ सरकार पूर्णरूपमा सफल छ । संघीय सरकारको असहयोगका बाबजुद आफ्नो कार्यकाल सफल रूपमा बितिरहेको छ । संघीयतालाई असफल पार्ने तत्त्वहरू सक्रिय रहेको समयमा प्रदेश सरकार संघीयतालाई संस्थागत गर्न अगाडि बढिरहेकाले आफ्नो नेतृत्वको सरकार सफल रहेको उनले बताएका थिए ।
उनले आफू नेतृत्वको सरकार भ्रष्टाचार तथा फजुल खर्चमा कदापि नलाग्ने दाबी गरेका थिए । तर, उनको त्यो बोली व्यवहारमा भने पटक्कै देखिएन । प्रदेश २ सरकारले सामान्य होर्डिङ बोर्डकै नाममा लाखौं रकम खर्च गरिरहेको छ भने अन्य ठूला काममा कति रकम अनियमित रूपमा खर्च गरिरहेको होला, सहजै अनुमान लगाउन सकिन्छ । अहिले प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूले आआफ्नो चित्र अंकित ठूला–ठूला होर्डिङ बोर्ड प्रदेशका विभिन्न ठाउ“मा लगाएको देखिन्छ । होर्डिङ बोर्डमा प्रदेश सरकारका केही महत्त्वाकांक्षी योजनाको स्लोगन पनि लेखिएका छन् । महत्त्वाकांक्षी योजनाको प्रचार–प्रसारको नाममा मात्र बर्सेनि लाखौंको बजेट छुट्याइएको छ । प्रचार–प्रसारको नाउमा खर्च गर्न मुख्यमन्त्री कार्यालय अब्बल देखिएको छ । मुख्यमन्त्री कार्यालयले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि ३१ लाख रुपैया प्रचार–प्रसारका लागि मात्रै छुट्याएको छ । जबकि चालु आर्थिक वर्षमा मुख्यमन्त्री कार्यालयले प्रचार–प्रसारका लागि ८० लाख रुपैया छुट्याएको थियो । जुन शीर्षकमा प्रचार–प्रसारका लागि बजेट छुट्याइएको थियो सोही शीर्षकमा फेरि पनि लाखौं रुपैया छुट्याइएको छ । ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान’ सम्बन्धी होर्डिङ बोर्ड तथा ब्यानरका लागि आगामी आर्थिक वर्षमा १६ लाख रुपैया बजेट छुट्याइएको छ । चालु वर्षमा यही अभियानको होर्डिङ बोर्डका लागि ५० लाख रुपैया छुट्याइएको थियो ।
त्यस्तै सोही अभियानको प्रचार–प्रसारका लागि टिसर्ट र ब्याच खरिद गर्न आगामी आर्थिक वर्षमा ५ लाख रुपैया बजेट छुट्याइएको छ । चालु आर्थिक वर्षमा यसका लागि १० लाख रुपैया छुट्याइएको थियो । त्यस्तै, प्रदेश सरकारको अर्को महत्त्वाकांक्षी योजना मुख्यमन्त्री स्वच्छता अभियानसम्बन्धी होर्डिङ बोर्ड राख्नका लागि आगामी आर्थिक वर्षमा १० लाख रुपैयाको बजेट छुट्याइएको छ । यसका लागि चालु आर्थिक वर्षमा भने २० लाख रुपैया छुट्याइएको थियो ।
युवा अभियन्ता सुशील कर्णले भने, प्रदेश सरकार होर्डिङ बोर्ड तथा ब्यानरमै सीमित छ । उल्लेखनीय काम भने केही गर्न सकेको छैन ।
नया“ योजनाभन्दा पनि पुरानै योजनाको प्रचार–प्रसारका लागि बर्सेनि लाखौंको बजेट छुट्याईदा प्रचार–प्रसारको नाममा समेत भ्रष्टाचार भइरहेको उनको आरोप छ । सरकारले बाचा अनुसारका महत्त्वपूर्ण काम कुनै पनि पूरा गर्न नसकेको उनले बताए ।
संघ सरकारले संघीयता असफल पार्न कर्मचारी लगायतमा असहयोग गरी काम गर्न दिएन भन्दै सार्वजनिक कार्यक्रममै प्रदेश सरकारका मन्त्री गाली–गलौजमा उत्रिएका छन्, उनले भने, तर, आफूले जनतासंग गरेको बाचा र प्रत्येक आर्थिक वर्षको नीति तथा कार्यक्रममा राखेका योजना भने पूरा गर्न सकेको छैनन् ।
राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका माध्यमबाट प्रदेशका जनताको सर्वोत्तम हित र समुन्नति प्रत्याभूत गर्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए पनि व्यवहारमा भने उल्टो देखिएको युवा नेता सरोज मिश्रको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here