चन्द्रपुर,३ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जिल्लामा सञ्चालन भइरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरु धमाधम नियन्त्रणमा लिन थालेको छ । सो क्रममा शुक्रबार जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रनिगाहपर आसपासबाट २५ वटा भारतिय नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिएको छ । यसरी भन्सार छलेर निर्वाध रुपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारी साधनहरुलाई नियन्त्रण लिइ भन्सार बुझाउने तयारी गरिरहेको सो कार्यालयले जनाएको छ । नियम विपरित चलेका भारतीय नम्बर प्लेटका सवारी साधनहरुलाई जिल्लाभरनै अभियानकै रुपमा कार्यक्रमा सञ्चालन गरेर नियन्त्रणमा लिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक ज्ञान बहादुर माझीले बताए । उनले सुरुमा केही दिन भारतीय नम्बर प्लेटका सवारी साधनहरु नचालउन स्थानीय रेडियोहरुबाट सुचना प्रशारण गरेर , माइकिङ गरेर सर्वसाधरणलाई जानकारी दिएको जनाउदै श्रावन १ गतेदेखि चेकिङ गरेर नियन्त्रणमा लिन सुरु गरेको जनाएका छन् ।
हामी नियम विपरित चलेका साना तथा ठुला सबै भारतीय नम्बर प्लेटका सवारी साधनहरुलाई नियन्त्रणमा लिन्छौ उनले भने, जिल्लामा सञ्चालन भइरहेका यस्ता सवारी साधनहरु नियन्त्रणमा लिन हामी कडाइका साथ प्रस्तुत हुन्छांै । यसमा स्थानीयको पनि साथ, सहयोग चाहिन्छ । नेपालको कानुन अनुसार भन्सारमा तोकिएको राजस्व तिरेर कुनैपनि भारतीय नम्बर प्लेटका सवारी साधनहरु वर्षमा बढिमा ३० दिन चलाउन पाइने भएपनि रौतहटमा भने निर्वाध रुपमा त्यस्ता सवारीसाधनहरु चल्ने गरेका छन् । यसरी चलेका सवारीसाधनहरुबाट एक त राज्यले वर्षैनी करौडौं राजस्व गुमाइरहेको छ भने अर्कातिर दुर्घटना भएमा पनि त्यस्ता सवारीसाधनहरु र सवारी धनीहरुलाई समात्ने कुनै आधार नहुने प्रहरीको भनाइ छ । यस्ता अवैध भारतीय नम्बर प्लेटका सवारीसाधनहरुबाट हिट एण्ड रनका घटनासंगै अपराधि कृयाकलापहरुमा प्रयोग हुने खतरा रहेको छ । भारतसँग सीमा जोडिएको रौहतटमा भारतबाट नया“ मोटर साइकल, कार लगायतका सवारीसाधन किनेर चलाइनु सामान्य रहेको स्थानीय बताउछन् । जिल्लाका नेता, जनप्रतिनिधीहरु, सवृद्ध वर्गमा मानिसहरुले पनि भारतीय नम्बर प्लेटका सवारीसाधनहरु प्रयोग गर्ने गरेको स्थानीय बताउछन् । जिल्लाका दक्षिणी भेगमा इलाकाहरुमा यस्ता सवारी साधनहरु छ्यापछ्याप्ति प्रयोग हुने गरेका छन् । यस्ता सवारी साधनहरुलाई नियन्त्रणमा लिने ट्राफिक प्रहरीको अभियान राम्रो भएपछि यसलाई केही दिनको रमझममा मात्र सिमित पार्न नहुने स्थानीय जितेन्द्र साहको भनाइ छ । यो अभियान केही दिन र केही स्थानहरु मात्र सिमित नराखि जिल्लाभर कडाइका साथ चलाइनुपर्ने उहाँको सुझाव छ ।
यता जिल्ला ट्राफिक प्रहरीले पहिलो दिन नियन्त्रणमा लिएका सवारी साधनहरुलाई छोडिदिन नेता तथा जनप्रतिनिधीहरुको सिफारिस आउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय श्रोतले जनाएको छ । यसरी सिफारि गर्नेहरुले तराइ मधेसमा भारतीय नम्बर प्लेटका सवारीसाधन चल्नु सामान्य भएको र यसलाई नियन्त्रण गर्न असम्भव भएकाले नियन्त्रणमा लिएकाहरुलाई छाडिदिन दवाव दिने गरेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here