ओम प्रकाश यादव
गरुडा, ३ साउन । प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले गृह जिल्ला रौतहटमा केही दिनदेखी साइकल वितरण गर्दै आएका छन । मन्त्री यादवले विद्यालयमा पढाईप्रति आकर्षण गर्ने उद्देश्यले छात्राहरुलाई साइकल वितरण कार्यलाई निरन्तर्ता दिरहेका छन । जनता समाजवादी पार्टीका उपेन्द्र यादव समुहका प्रभावशाली नेता समेत रहेका कृषि राज्य मन्त्री यादवले ‘प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत रौतहटको माधवनारायण नगरपालिका ६ माध्यमिक विद्यालय माधोपुरमा कक्षा ८ मा अध्ययनरत छात्राहरूलाई साइकल प्रदान गरेका हुन ।
कोरोना भाइरसलाई मध्य नजर गर्दै भाइरसबाट बच्नका लागि अपनाउनुपर्ने सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुका साथै सामाजिक दुरी समेत कायम राख्दै कृषि राज्य मन्त्री यादवले मावि माधोपुरमा कक्षा ८ मा अध्ययनरत ५७ जना छात्राहरुलाई साइकल वितरण गरेका हुन । शनिबार विहान एक कार्यक्रमका बीच उनले सो साइकल प्रदान गरेका हुन । विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै मन्त्री यादवले यस कार्यक्रमले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गरेका हुन । समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका मन्त्री यादवले प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपङ्तिमा राख्ने सोच लिएको बताए । विद्यालयमा छात्राहरुलाई पढाईप्रति आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ कार्यक्रम ल्याएको उनले बताएका छन् । महिला शिक्षा विना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेर प्रदेश सरकारले एक पछि अर्को कार्यक्रम ल्याउन लागेको उनले बताए । उनले प्रदेश सरकारले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको समेत बताए । साइकल वितरण कार्यक्रममा पिछडावर्ग ओबीसी महासंघका केन्द्रिय अध्यक्ष गजेन्द्र ठाकुर, माधवनारायाण नगर प्रमुख विरेन्द्र यादव, विद्यालयका प्रधानाध्यापक संजय प्रसाद, जसपाका माधोपुर गाउ एकाई कमिटि अध्यक्ष विर्झन यादव लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।