चन्द्रपुर,११ साउन । आज सोमबार देखि मनसुन सक्रिय भई देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा हुने छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भू भाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबार देखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।
आज राति सम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना रहेकोले मनसुन सक्रिय भई बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको हो, मौसमविद् पौडेलले भने । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदैँ देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।