बारा,१८ साउन ।
सरकारले यतिबेला ५० वर्ष माथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाइरहेको छ । तर खोप वितरण प्रभावकारी नहुँदा नागरिकले भने निकै सास्ती बेहोर्नु परेको छ । हिजो विहान ११ बजे सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्र पुग्नुभएका सिमरा हुलासका राजु अधिकारीले कोरोना विरुद्धको भेरोसेल खोप लगाउन पाउनुभएन । गत शनिबारदेखि तीन दिनसम्म खोप लगाइने थाहा पाएपछि स्वास्थ्य केन्द्र पुग्नुभएका उहाँले खोप केन्द्रमा पुगेपपछि खोप सकिएको जवाफ पाउनुभयो । उहाँ मात्र होइन शनिबार दिनभर लाइन बस्दासमेत खोप लगाउन नपाएर फर्किनुभएका ७६ वर्षका डम्मरबहादुर भण्डारीले पनि उस्तै समस्या भोग्नुभयो । खोप केन्द्रमा स्वास्थ्यकर्मीले खोप नभएको जवाफ दिएपछि उहाँ पनि अन्यौलमा पर्नुभएको छ । स्वास्थ्य कार्यालय बाराले खोपका लागि बिहान १० बजेदेदेखि दिउँसो चार बजेसम्मको समय निर्धारण गरेको छ । शनिबार दिनभर लाइन बसेका झण्डै ५० जना हिजो पालो आउने आशमा थिए । तर बिना सूचना स्वास्थ्य केन्द्रले खोप नभएको भन्दै सर्वसाधारणलाई फर्काइदिएको थियो ।५५ वर्ष माथिका नागरिक, सार्वजनिक सवारीका मजदुर, अपाङ्गता भएका व्यक्ति र बैदेशिक रोजगारीमा हिँडेकाहरुलाई लक्षित गरी स्वास्थ्य कार्यालय बाराले प्राथमिक स्वास्थ्य केन्द्र सिमराका लागि ९ हजार ७ सय डोज खोप उपलब्ध गराएको थियो । तर पहुँचका आधारमा खोपमा अनियममितता भएकै कारण लक्षित वर्गले खोप नपाएको स्थानीय मान बहादुर श्रेष्ठले बताउनुभयो । सरकारले सबै नागरिकलाई खोप पु¥याउने लक्ष्यसहित वितरण थालेपनि यसको व्यवस्थापन चुस्त बन्न नसक्दा एकातर्फ नागरिकले खोपकै लागि सास्ती खेप्नु परेको छ भने अर्कातर्फ खोपकेन्द्रमा भएको भीडभाडबाटै सङ्क्रमण फैलने जोखिम बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here