जनकपुर,२४ साउन । औरही गाउँपालिका ६ धनुषाकी १६ वर्षीया अविवाहित पूजा मण्डल (नाम परिवर्तन)ले बच्चा जन्माएकी छन् । आपसमा प्रेम भएपछि रिलेशनसिपमा बसेका उनका प्रेमी रवीन्द्र मण्डल भने पूजा गर्भवती भएदेखि नै फरार छन् ।
पूजाले आमासँग रवीन्द्रसँगको सम्बन्धबारे गर्भवती भएपछि जानकारी गराएकी थिइन् । आमाले सामाजिक अगुवाको सहयोगमा पूजालाई रवीन्द्रको जिम्मा लगाउने प्रयास गरिन् । रवीन्द्रको परिवारले पूजालाई स्वीकारेनन्, तर टेलिफोनमा रवीन्द्रले आपसमा सम्बन्ध भएको स्वीकारे । त्यसपछि रवीन्द्र सम्पर्कमा नआएको पूजाले बताएन् ।
अहिले पूजा र बच्चाको बिचल्ली भएको छ । तीन वर्षअघि नै उनको बुवाको निधन भइसकेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन नपाएपछि अल्पआयूमै पूजाको बुवाको निधन भएको थियो ।
अहिले घरमा कोही कमाउने छैन । घर चलाउन पनि मुस्किल छ । आमा पूकारीदेवी मण्डल मजदुरी गरेर जसोतसो घर चलाउँछिन् । छोरी पूजाले बच्चा जन्माएपछि लालनपालन कसरी गर्ने भन्ने चिन्ताले सताएको छ आमा पूकारीदेवीलाई ।
पूजाले आफूलाई गर्भवती बनाएर छाडेपछि रवीन्द्रविरुद्ध ईलाका प्रहरी कार्यालय औरहीमा उजुरी दिएकी थिइन् । त्यहाँका प्रहरीले कुनै चासो देखाएनन् । पछि जिल्ला प्रहरी कार्यालय धनुषामा समेत उजुरी दर्ता गराइन् । तर रवीन्द्र पक्राउ नपरेपछि प्रहरीले केही गर्न सकेका छैन । नेपाल प्रेसबाट