वीरगन्ज,२५ साउन । वीरगन्ज कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । कारागारका स्वास्थ्य प्रमुख दीपक यादवका अनुसार एक सातायता भाइरल ज्वरोको प्रकोप देखिएको हो । कैदीबन्दीमा ज्वरो तीव्र रुपमा बिस्तार भइरहको छ । आइतबारसम्ममा २ सय ६० कैदीबन्दीमा ज्वरो देखिइसकेको उनले जानकारी दिए । ज्वरोको प्रकोप तीव्र रुपमा फैलिरहेको छ, उनले भने, अधिकांश बिरामी कैदीबन्दीमा कारागार बाहिर फैलिएको इन्फ्लुएन्जा ‘ए’ को जस्तै रुघाखोकी र ज्वरो जस्ता लक्षण देखिएको छ । बिरामी कैदीबन्दीको उपचार गर्दागर्दै आफू पनि शनिबारदेखि भाइरल ज्वरोको सिकार भएको यादवले बताए । म मात्र होइन, कारागारका अस्पताल नाइके लगायतको उनको समूहका १० जनामा पनि भाइरल ज्वरो देखिएको छ, उनले भने, ज्वरोका बिरामी थपिने क्रम दैनिक बढ्दो छ । पुरुष मात्र नभइ महिला कैदीतर्फ पनि भाइरल ज्वरोको प्रकोप फैलिएको उनले बताए । कारागारका निमित्त जेलर नवराज बर्तौलाले बिरामीको उपचार गर्न हाल औषधिको अभाव नरहेको बताए । बिरामीको संख्या ठूलो भएपनि हामीसँग अहिले औषधिको अभाव भएको छैन, उनले भने, गतसाता मात्रै औषधि आएकाले हामीलाई पुग्ने औषधिको मौज्दात छ । कारागारमा आइतबार महिला र पुरुष गरी १ हजार २ सय ५८ कैदी बन्दी रहेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here