सञ्जय साह मित्र,
रौतहटका प्रिन्ट मिडियाको वर्तमानको बारेमा लेखिएको यो आलेख इतिहास भने होइन । वर्तमानमा रौतहटका प्रिन्ट मिडियाको अवस्था र त्यसमा तराई एक्सप्रेस दैनिकको पहिचानको विषयमा नै केन्द्रित रहने प्रयास गरिएको छ ।
रौतहटको सिमाभन्दा बाहिरबाट हरेक दिन करिब सात हजार अखबार रौतहटमा भित्रिइहरेको एक अनुमान रहेको छ । रौतहटमा नेपाली, अंग्रेजी र हिन्दी भाषाका दैनिक अखबारहरु खपत हुन्छन् । नेपाली र अंग्रेजी नेपालबाट र हिन्दी भारतबाट प्रकाशित हुने दैनिक पत्रिकाको अत्यन्त सानो बजार रौतहट हो । अखबारको सबैभन्दा बढी खपत हुने भूगोल मुख्य गरी चन्द्रपुर नगरपालिका नै हो । जिल्ला सदरमुकाम गौरमा पनि दैनिक पत्रिकाको पहुँच छ भने अलिकति सानो बजार गरुडा पनि हो । जिल्लामा कतिपय स्थानीय तह यस्तो छ जहाँ अझै पनि अखबारको पहुँच छैन ।
रौतहटमा खपत हुने अखबारहरु मुख्य गरी देशको राजधानी काठमाडौँबाट आउँछन् । यसै गरी जनकपुर, वीरगंज र भारतको मुजफ्फरपुरबाट अखबारहरु रौतहटमा आउँछन् । जिल्लाभन्दा बाहिरका अखबारहरुमध्ये अत्यन्त अल्प संख्यामा मात्र यी बाहेक अन्य ठाउँबाट आउँदा हुन् ।
पछिल्लो राष्टिूय जनगणनाको अन्तिम परिणामअनुसार देशको सबैभन्दा धेरै प्रतिशत निरक्षर वा सबैभन्दा कम प्रतिशत साक्षर रहेको जिल्ला रौतहट हो । साथै मानव विकास सूचकांकमा पनि यो जिल्ला निकै पछाडि रहेको छ । जहाँ साक्षरता छैन र विपन्नता अत्यधिक छ, यो अवस्थामा पनि अखबारको प्रकाशन यस जिल्लाबाट आफैमा सुखद पक्ष हो । यस जिल्लाको अखबारको इतिहास हेर्दा धेरै पुरानो नरहेको भए पनि समग्र पत्रकारिताको इतिहास हेर्ने हो भने राणाकालसम्मै पु¥याउँछ । राणाकालमै स्थापना भएको तत्कालीन शारदा पुस्तकालयले गौरमा हस्तलिखित साहित्यिक र समसामयिक पत्रिकाको सुरुआत गरेको थियो । पछि केही अंक प्रिन्ट भएर पनि प्रकाशन भएको थियो । यद्यपि औपचारिक पत्रकारिताको सुरुआत निकै पछि मात्र भएको हो ।
यहाँ अखबार दर्ता हुने अनि प्रकाशन नहुने पनि देखिएको छ । कतिपय अखबार त दर्ता भएपछि प्रकाशन नै भएको पाइएको छैन । कतिपय अखबार केही अंक प्रकाशन भएर स्थगन भएको र बन्द भएको पाइएको छ । यस जिल्लामा केही लामो समय चलेको साप्ताहिक पत्रिकाको पनि इतिहास खोज्नु पर्ने हुन्छ । बरु दर्ताको प्रक्रियामा नगएका केही साहित्यिक पत्रिकाहरु भने केही वर्ष राम्ररी चलेको इतिहास पाइन्छ । यद्यपि यहाँ प्रसंग अखबारको रहेको छ ।
रौतहट जिल्लामा साप्ताहिक पत्रिकाले आफ्नो स्थान र पहिचान बनाउँदा नबनाउँदै स्थगन हुनु परेको र फेरि पनि प्रकाशन हुन नसकेको इतिहास देखिन्छ । साठीको दशकदेखि यता आफ्नो समयमा शीतलपुर, बज्जिकावाणी, चपुर, मध्यरौतहट लगायतका साप्ताहिक पत्रिकाहरु केही वर्ष चलेर चर्चा कमाएका थिए । यी बाहेक अन्य केही साप्ताहिक अखबारले पनि राम्रो प्रतिष्ठा आर्जन गरेका थिए । प्रतिरक्षा, तराई पोस्टजस्ता साप्ताहिक अझै पनि स्मृतिमा रहेका छन् ।
एकताका राजदेवी दैनिकले राम्रो प्रतिष्ठा आर्जन गरेको थियो । यसै गरी मधेस मिहिर, क्रान्तिद्वार, रौतहट हस्तक्षेप, सोच एक्सप्रेस, मध्य तराई लगायतका पत्रिकाहरुले जिल्लाको सदरमुकाम गौरको सान बढाएका थिए तर कालान्तरमा कुनै पनि पत्रिका नियमित रुपमा पाठकको हातमा पुगिरहन सफल हुन सकेको देखिँदैन । यसै गरी गरुडाको ठेगानामा प्रकाशित भएको सामाचकबा दैनिकले पनि केही समय राम्रो बजार पाएको थियो तर कालान्तरमा पत्रिका सेलाएर गएको जस्तो छ । यी मध्ये कतिपय अखबार अहिले बजारमा देखिँदैनन् । मध्यरौतहटको कटहरिया मुख्य केन्द्रविन्दू बनाई प्रकाशन हुन थालेको वर्तमानकाल दैनिकले पनि राम्रो गर्दै लगेको हो । यस अखबारले पनि बजार र पाठक दुवै बनाइसकेको अवस्था रहेको छ । यद्यपि पत्रिकामा केही समस्या रहेको हो कि भन्ने अनुमान लगाउन पनि खासै कठिन हुँदैन किनभने विचार पृष्ठका विषयवस्तुहरु निरन्तर दोहोरिइरहेका छन् ।
चन्द्रपुरबाट भने तराई एक्सप्रेस, हाइवे न्युज, हाइवे पोस्ट, जनसरोकार तथा साझावाणीजस्ता दैनिक अखबारहरु प्रकाशन भएका छन् । तराई एक्सप्रेस पहिले साप्ताहिक थियो र पछि दैनिक भएको हो ।
अहिले रौतहटमा नियमित प्रकाशनमा रहेका दैनिक अखबारहरुमा तराई एक्सप्रेस झन्डै सबैभन्दा पुरानो भन्नेमा दुई मत रहेको छैन । यो दैनिक पुरानो हुनुमा मात्र गर्व गर्न सकिन्न । यसले निरन्तरता पाएको छ, यो महत्वपूर्ण पक्ष हो । जिल्लामा माथि उल्लेख भएका बाहेक अन्य अखबारहरु पनि समयक्रममा उदाए, उज्यालो घाम छरे, आशाको ज्योति बाले तर कालान्तरमा प्रकाश मधुरो बन्यो ।
रौतहटमा अखबारहरु किन टिक्दैनन् ? यसको अध्ययन हुन आवश्यक छ । सामान्यतया के देखिएको छ भने एकल स्वामित्वमा निकालिएका अखबारले पनि लामो समयसम्मको निरन्तर यात्रालाई सम्भव तुल्याएको छैन भने सामूहिक प्रयासमा निकालिएका अखबारले पनि मतभेदको शिकार हुनु परेको छ । यी बाहेक अन्य अखबारहरु पनि रहेका छन् जुन अन्य कारणले केही सीमित प्रति निकालिए, निकालिन्छन् वा प्रकाशन स्थगित गरिएका छन् ।
अखबार प्रकाशनको क्रममा प्रारम्भमा देखिने उत्साह, जोश र लगनशीलता विस्तारै सेलाउँदै गएर पत्रिका खिइँदै गएको देखिनु रौतहटको प्रवृत्ति हुन गएको छ । प्रारम्भमा खोजमूलक र जल्दाबल्दा विषयमा जोड दिएर परिश्रम गरी अखबारमा महत्वपूर्ण स्थान दिने तर विस्तारै फेसबुकमा पोस्ट गरिएका आधारमा समाचारहरु राख्दै जाने प्रवृत्तिले पनि पाठक कम हुने र विस्तारै चर्चा कम हुँदै जाने भएको हो कि ?
आर्थिक पाटो अखबार प्रकाशनको अति महत्वपूर्ण पक्ष हुन्छ । रौतहटेली अखबारको लागि विज्ञापनको बजार धेरै सानो होइन । अस्वस्थ प्रतिस्पर्धाले गर्दा विज्ञापनको बजार सानो देखिएको हो । कतिपय अखबार त यस्ता छन् जो विज्ञापन आएको दिन केही प्रति प्रकाशन हुन्छन् र सोझै विज्ञापनदाताको हातमा पुग्छन् । विज्ञापन नआउँदा पत्रिका प्रकाशन हुन्नन् । यस प्रवृत्तिले गर्दा पनि रौतहटका अखबार र अखबारका पत्रकारलाई रौतहटले राम्ररी चिन्न नसकेको हो । वास्तवमा विज्ञापनको बजारमा यस प्रकारको हस्तक्षेपको पनि मूल्यांकन हुनु पर्दछ । स्वच्छ र स्वस्थ्य पत्रकारिता हुनुपर्छ भनेर सबैले भन्ने गरेका छन् । यसमा कसैको दुई मत छैन । यसलाई व्यवहारमा लागू गर्न र गराउन पत्रकारहरुबाहेक अरुबाट फेरि सम्भव हुने पनि देखिन्न । यदि स्वच्छ र स्वस्थ्य पत्रकारिता हुन गयो भने वास्तवमा रौतहटमा विज्ञापनको बजार सानो रहेको छैन ।
चन्द्रपुरबाट नियमित र निरन्तर प्रकाशनरत तराई एक्सप्रेस दैनिकको पनि आफ्नै समस्याहरु होलान् । तराई एक्सप्रेसले गरेको संघर्ष पनि एउटा विशिष्ट पक्ष हो ।
अन्य अखबारको लागि उदाहरण हो । सीमित स्रोत र साधन त सबै अखबारको लागि रहेको छ । हो, सीमिततामा विशालता र विशालतामा पनि सीमिततलाई कसरी उपयोग गर्ने भन्ने पक्ष महत्वपूर्ण हो । अहिलेको समयमा अखबार प्रकाशनलाई तराई एक्सप्रेस दैनिकले खेलाँचीको रुपमा लिएको देखिन्न । प्रतिस्पर्धाको बजारमा आफूलाई पाठकबीच पु¥याउनु छ र पु¥याइरहनु छ । यसलाई विचार गरेर नै चुनौतीलाई स्वीकार गरी तराई एक्सप्रेसले निरन्तरता दिएको हो ।
हो, अखबारको लागि विज्ञापन नै मुख्य आधार हो, टेको हो तर विज्ञापनकै लागि अखबार निकाल्ने हो कि अखबार निकाल्नुको पनि केही धर्म हुन्छ ? पाठकप्रतिको दायित्वबोधलाई नबुझ्नेले विज्ञापनलाई नै अन्तिम लक्ष्य मान्न सक्लान् तर विज्ञापन नै साध्य हुन सक्दैन ।
विज्ञापन साधन हुन सक्छ । यस अर्थमा तराई एक्सप्रेस दैनिकले गरेको संघर्ष सार्थक रहेको छ । सार्थक संघर्षले नै यस दैनिकलाई पाठकले एउटा सम्मान दिएको छ ।
सम्मानको हकदार बनाएको छ । सम्मान पनि हार्दिक र प्राविधिक हुन सक्छ । पाठकले तराई एक्सप्रेसलाई हार्दिक सम्मान गरेको छ । यही सम्मानको जगमा आफूमा रहेका केही कमीकमजोरीलाई पनि सुधार गर्दै आफूलाई जिल्लामा मात्र नभएर जिल्लाबाहिर पनि विस्तार गर्नु परेको छ । छिमेकी जिल्लाबाट अखबारहरु आइरहेको रौतहटमा तराई एक्सप्रेसले छिमेकी जिल्लाका पाठकलाई पनि केन्द्रविन्दूमा राखेर छिमेकी जिल्लाको पनि आफ्नै अखबार रहेको भनी देखाउनु परेको छ ।
जसरी हरेक दिन रौतहटको समाचारमा केही खोजमूलक समाचार तराई एक्सप्रेसले दिइरहेको हुन्छ, त्यसै गरी छिमेकी जिल्लाको पनि खोजमूलक समाचार यदि हरेक दिन एउटा एउटा पस्किने हो भने अन्य पाठकको लागि पनि दृष्टान्त बन्न जान्छ ।
तराई एक्सप्रेसले अझै राम्रो गर्दै जाओस् । यसले राम्रो गर्दै गएमा रौतहटका पाठकका साथै छिमेकी जिल्लाको पाठकमा प्रिय बन्न जान्छ । संघर्षको एउटा चरण पूरा गरिसकेको तराई एक्सप्रेसलाई नया“ उज्यालोको नवीन यात्राको शुभकामना व्यक्त गर्दछु ।
