नरहरि आचार्य
,यो आलेख लेखिरहँदा तराई एक्सप्रेस दैनिक १५ वर्ष पुरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ । यो अवधि पार गर्नु मोफसलको हकमा आफैंमा ठूलो सफलता मात्र होइन, चुनौती पनि हो । सर्वप्रथम पत्रिका प्रकाशन गर्न अथक प्रयास गर्ने प्रकाशकलाई धन्यवाद दिन चाहन्छु ।
पत्रिका दर्ता गर्नु, अनि केहि समय प्रकाशन हुनु र बन्द हुनु रौतहटेली पत्रकारिताको बाध्यता रहेको अवस्थामा उनको यो प्रयासलाई सह्रानीय मान्नु पर्छ जसले रौतहट जस्तो आमसञ्चारका माध्यमबाट पछाडि परेको जिल्लामा पत्रिका प्रकाशन नियमित गरेर समाजका लागि योगदान गरे । उनको यो प्रयास कम्ति संघर्षपूर्ण अनि अनुकरणयोग्य छैन अन्यका लागि पनि ।
त्यसताका जिल्लामा छापाखाना नहु“दा तराई एक्सप्रेसले कम्ति सास्ती खेप्नु परेन ।कहिले जनकपुर, कहिले हेटौंडा त कहिले वीरगञ्जको छापाखानामा पुगेर पत्रिका छापेर जिल्लामा वितरण गर्ने दुस्साहस गर्ने भाई अशोक पहाडीको यो संघर्षपूर्ण प्रयास सम्झंदा पनि कहालीलाग्दो छ । तापनि उनले हिम्मत होरनन् । हो, यहि हिम्मतको परिणाम हो, आज तपाई पाठकहरुसमक्ष फरक खालको समाचार पस्किएर कुरीति, कुसंस्कार, भ्रष्टाचार अनि बेथिति विरुद्ध निरन्तर खवरदारी गरिरहेको छ, तराई एक्सप्रेसले ।
अझ एकै व्यक्ति प्रकाशक, व्यवस्थापक, सम्पादक, हकर हुनुपर्ने पीडा भोगेको छ, तराई एक्सप्रेसले । मोफसलबाट पत्रकाररिता गर्नु कम्ति चूनौति छैन, भन्ने कुरा तराई एक्सप्रेसले विभिन्न आरोह अवरोह पार गरेबाटै प्रष्ट हुन्छ । हुन त तराई एक्सप्रेस भन्ने वित्तिकै भूगोल विशेष पत्रिका मात्रै हो कि भन्ने बुझिन्छ । तर यसले कहिल्यै भूगोल विशेष समाचारलाई मात्र प्राथमिकता दिएन । के हिमाल, के पहाड, के तराई सवै समाचारले प्राथमिकता पाए ।
विसं २०६२ सालबाट साप्ताहिक प्रकाशन शुरु भएको तराई एक्सप्रेस विसं २०७० सालबाट दैनिक भएर नियमित प्रकाशित भइरहेको छ । समाचारलाई अझ परिस्कृत र समय सापेक्ष बनाएर पाठकसमक्ष प्रस्तुत गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै तराई एक्सप्रेसले केहि वर्ष अघिदेखि डिजिटल संस्करण सञ्चालन गरिरहेको छ ।आम नागरिकलाई सामाजिक सञ्जालको पहुँचमा पुर्याउन यो संस्करणको डिजिटल प्लेटफर्म निक्कै प्रभावकारी सावित भएको छ ।
जसबाट आम पाठकले ताजा समाचारहरु तुरुन्त पाइरहेका छन् । विदितै छ, तराई एक्सप्रेसले रौतहट जिल्लासहित प्रदेश नं २ का विकास निर्माणका काम मात्र होइन बिकृति विसंगतीलाई विना पक्षपात प्राथमिकता दिइरहेको छ ।
अझ भन्ने हो भने बिकृती माथि कडा रुपमा प्रहार गरेकै कारण आम पाठकको मनमस्तिष्कमा तराई एक्सप्रेस बस्न सफल भयो । तव न तराई एक्सप्रेस आजपनि तपाईंको घर आँगनमा निरन्तर हाजिर भइरहेको छ । विकासका सूचकांकहरुमा निक्कै पछाडि रहेको रौतहट जस्तो जिल्लामा नियमित रुपमा आफ्नो उपस्थिति कायम राख्न सक्नु पत्रपत्रिकाको लागि चूनौति छ । अझ रौतहटका आमसञ्चारका माध्यम शुरुमा प्रकाशन तथा प्रसारण हुने अनि बीचैमा हराउने यो रोग अझै कायम छ । हुन त नियमित हुन नसक्नुमा विविध कारणहरु पनि छन् । स्वयँ यो पंक्तिकारले चन्द्रनिगाहपुरबाट चपुर साप्ताहिक प्रकाशन गर्यो । तर विविध कारणवश नियमित गर्न सकिएन । चपुरसाप्ताहिकसहित दर्जनौंको हाराहारीमा रहेका पत्रपत्रिका र रेडियोको बीचमा तराई एक्सप्रेसले सतिसाल भएर पाठक समक्ष उभिएर आफ्नो भूमिका निर्वाह गरिरह्यो । यसले कसैलाई काखा अनि कसैलाई पाखा गरेन । अझ विकृति र विसंगतीलाई खरो रुपमा प्रहार गरिनै रह्यो ।
भनिरहनु परोइन, यही विशेषताकै कारण यो सवैको लोकप्रिय र कर्णप्रिय बन्न पुगेर सवैको प्रिय बन्न सक्यो तराई एक्सप्रेस । यो सवैको श्रेय पाठक तथा शुभेच्छुकलाई निश्चित रुपमा जान्छ नै । जसका कारण साप्ताहिकबाट प्रकाशन आरम्भ भएको तराई एक्सप्रेस दैनिक बनेर अगाडि बढिरहन सफल भयो ।
यसको परिणाम स्वरुप अविरल बग्दछ इन्द्रावति भने झैं निरन्तर रुपमा प्रकाशित भइरहेको छ तराई एक्सप्रेस दैनिक । अन्त्यमा, फेरि पनि तराई एक्सप्रेस दैनिकलाई शुभकामना ।
तराई एक्सप्रेसका पूर्व कार्यकारी सम्पादक आचार्य हाल काठमाडौंमा आर्थिक अभियान राष्ट्रिय दैनिकको वेब संस्करणमा कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here