रेणुका जिसी

“अस्ति सम्म झुत्रो म्याक्सी लगाएर चोक आउथी हेर हेर अहिले पारा”आखा र मुख नचाएर बाटो तर्फ हिंडिरहेकी महिलालाई इङ्गित गरेर एउटीले इशारा गरिन् ।
फरक्क फर्केर हेरेर अर्किले सहमति जनाइन“ त्यै त”
तेस्रीले ओठ लेप्राउ“दै भनिन्
“अँफना सित गाईगुई सुनिन्छ ”
“होला के ।”
सबैले सहमति जनाए ।
केही वर्ष अगाडिको घटना हो । पसलमा सामग्री किन्न पालो पर्खेर बसेकी थिए । सोही पसल अगाडि भएर हिंडिरहेकी एउटी परिचित महिलाको बारेमा गरिएको कुराकानीको सानो अंश मात्र हो यो । त्यो पल सम्झँदा अझै पनि मन बिथोलिरहन्छ । अचम्म के भने ती कुराकानीमा संलग्न सबै महिला थिए । जसको कुराकानी गरिएको थियो। ती परिचित महिला आफनै बलबुताले संघर्ष गरेर जिविकोपार्जन गरिरहेकी थिइन् । व्यवसायिक जीवनमा हासिल गरेको सफलता संगै उनको पहिरनमा परिवर्तन आउनु सामान्य कुरा थियो । तर त्यस्ता सामान्य कुरालाई अतिरञ्जित गरेर असामान्य बनाइएका कैयौं उदाहरण हाम्रा सामु छन् ।
सरकारी अफिसमा कार्यरत एक जना महिला मित्र छिन । निर्धक्क आफना कुरा सबै सामु व्यक्त गर्छिन । आफनो कामका लागि कोही दोस्रो व्यक्तिलाई गुहार माग्दिनन । जति सुकै उच्च ओहोदाका व्यक्ति संग पनि आफनो विचार प्रष्ट राख्न सक्ने भएकोले कार्यालयमा उनको राम्रो प्रभाव छ । तर आफू आफनै रागले मरिच झै खुम्चिरहेका असन्तुष्ट सहकर्मी छन जो उनको नाम संग अरु नामहरु जोडेर तृप्त हुन्छन् । पढाइमा अब्बल छात्रा थिइन् । विद्यालयका भित्ता र बाटोका ढुङाहरुमा ती छात्राको नाम फरक फरक केटाहरुको नाम संग जोडेर लेखिएको पाइयो । हावा नचली कहा पात हल्लिन्छ ? सोहीलाई आधार मानेर अरुले व्यवहार गर्न थाले । घरमा समेत गाली खाइन् ।परिवारले उनका कृयाकलापमा निगरानी गर्न थाल्यो । त्यो घटनाले ती छात्रालाई लामो समय सम्म मानसिक आघात पर्यो । पछि बुझ्दा थाहा लाग्यो उनकै कक्षाका एक केटाले प्रेम प्रस्ताव अस्विकार गरेको निहुमा सो कृयाकलाप गरेको रहेछ । पात हल्लिन कुनै मुर्खले हांगालाई जोडले हल्लाए पनि पुग्छ ,यत्ति कुरा कहिले बुझ्छौ हामी ? कहिले सम्म एउटा हातमा फूल र अर्को हातमा तेजाब बोकेरउभिएका मुखुन्डाधारीहरुको पक्ष पोषण गरिरहन्छौ ? काम विशेषले कुनै पुरुष सहकर्मीसंग दुई दिन मात्र संगै यात्रा गर्नुस् , फेसबुक मेसेन्जरमा कुनै प्रसंङमा कोही पुरुषहरुसंग लामो बहस या कुराकानी गर्नुस् , बाटोमा हासेर बोल्नुस् , सार्वजनिक वृत्तमा आफना विचार स्पष्ट व्यक्त गर्नुस , चिया पिउनका लागि मात्र कुनै पुरुषसंग संगै केही मिनेट गफिदै उभिनुस , पेशागत या व्यवसायिक जीवनमा सफल बन्नुस्, आफना रहरका कपडा लगाएर हिड्नुस् मानिसहरुका नजर तपाईंका पछि पछि लाग्न थाल्छन । तपाइको चियोचर्चो गर्न सुरु गरि हाल्छन् । र तपाइको चारित्रिक प्रमाणपत्र तपाई पुग्नु अगावै तपाईं पुग्नुपर्ने ठाउमा पुगिसक्छ किनभने तपाईं महिला हो । अझै पनि हाम्रो समाजलाई महिलाको सफल जीवन सह्य भएको छैन् । चाहे निम्न परिवारका श्रमिक महिला हुन ,चाहे सामान्य परिवारका गृहिणी या हुन कामकाजी र उच्च ओहोदामा पुगेका महिलाहरु । हामी सबैको नियति एकै छ । उस्तै छ । अझ एकल महिलालाई त पाइला पाइलामा कँडा बिछ्याइएको छ । राष्टिूयसभा सदस्य कोमलवलीले राष्टिूयसभाको बैठकमा बादर शीर्षकको व्यंयात्मक कविता वाचन गरिन् ।
उनले वाचन गरेको कविता थियो तर आलोचना गर्नेहरुले कविताको भाव अर्थमा प्रश्न उठाएनन् । कोमल वलीका नितान्त वैयक्तिक पाटाहरुलाई उचालेर खिल्ली उडाउने काम गरे । एक जना पत्रकारले त एक एक व्यक्ति स्थान समेत तोकेर स्टाटस राखे । यस अघि रघुजी पन्तले पनि यस्तै विवादित अभिव्यक्ति दिएका थिए र फेरि यो खालको परिस्थिति नदोहोरिएला भन्न सकिन्न ।
हामी यस्तो समाजको जगमा उभिएका छौ,जहा महिलालाई कमजोर निहत्था भनेर बुझाइएको छ । महिला असहाय हुन , महिला बिचरी हुन , यिनीहरुलाई उभिन कसैले टेको लाइदिनु पर्छ हिडन कसैले डोराइ दिनुपर्छ । यही मानसिकता बोकेर छरिएका झुण्डहरु छन जसले महिलाहरुलाई बिचरी मात्र देख्छन् । कमजोर मात्र देख्छन् । कठ पुतला देख्छन् र त उनिहरुको नजरमा कमजोर ठानिएकी त्यही बिचरी केटी , कमजोर आइमाई जब आफनै बलबुता र संघर्षले दरिला खुट्टा बनाएर जमिनमा टेकेर ठिंग उभिन्छे ,आफनै खुट्टाको भरमा यात्रा गर्न थाल्छे ,आफनो अधिकारका लागि आवाज उठाउन खोज्छे ,समाजका विकृत पक्षका बारेमा बोल्न खोज्छे ।
तब तिनीहरु कँप्न थाल्छन् । उनिहरुको अहम्को जग यसरी हल्लिन्छ कि आफैलाई उभ्याउन पनि त्यो महिला माथि अनेक आरोप र लान्छना लगाएर चरित्र माथि प्रश्न चिह्न खडा गर्न थाल्छन् ।
चरित्र माथिको उठाइने प्रश्नले महिलालाई कमजोर पार्ने अस्त्रको रुपमा कार्य गरेको छ । अनि पछि पछि अर्को जमात छ वास्तविकता नबुझी हो मा हो मिलाइ दिन्छ ।
कतै कुन्ठा कतै जलन बोकेर उभिरहेका यस्ता पात्र र प्रवृत्ति नै हुन जसले महिलाको चरित्र माथि प्रश्न उठाएर महिलाका यात्राहरुमा तगारो तेर्साउने काम गरेका छन् ।महिलाका मनस्थितिलाई कमजोर बनाउन खोजेका छन् । तिनीहरु किन बिर्सन्छन कि चरित्र त पुरुषको पनि हुन्छ ?
घरदेखि ४२ किमी टाढा सदरमुकाममा कार्यालयको कामको शिलशिलामा पुगेकी म आफैलाई सोही कार्यालयमा भेटिएका समकक्षी पुरुषमित्रले सोधे “एक्लै ?” म अचम्म परे । मनमनै लाग्यो जागिरे मान्छे अफिसमा आएकी छु । कसलाई लिएर आऊ ? केही नबोली उनलाई हेरे । उनी पनि त एक्लै थिए ।“हजुरको को साथी छ र ?” मेरो प्रश्नले अचम्मित हुदै भने “त्यत्रो टाढाबाट लेडिज एक्लै आउनु भएछ भनेर नि ? ”
कसैले एक्लै भनेर प्रश्न सोध्छ भने त्यसलाई सामान्य सोच्ने बेला होइन यो । एक्लै ? यो प्रश्न मात्र होइन । व्याङय हो ।अविश्वास हो । अनि सम्भावित हिंसाको सुरुवात पनि ।
हामी महिलाहरुले घरायसी कामकाजमा मात्र सिमित नरहेर अन्य कृयाकलापमा सहभागिता जनाउन थालेको धेरै भएको छैन । पितृ सत्तत्मक जगको प्रभाव हामी भित्र पनि यसरी गडेको छ कि हामी ३२ लक्षणले युक्त बन्ने प्रयासमा हरदम हुन्छौ । फेमिनिज्मको ज्ञान त छ तर अनुशरण गर्न हिम्मत छैन । नआधुनिक न पुरातन बिचको मार्गमा उभिएर अलमल परिरहेका महिलाहरुका निम्ति पनि चरित्र माथि अनावश्यक टिका टिप्पणी हुनु भयङ्क र विषय भैदिन्छ । पछिल्लो समय मानिसहरु ज्यादा प्रतिक्रिया वादी भैरहेका छन । सूचनार सन्चारका साधनहरुको प्रयाप्त उपलब्धता छ । जसका कारण कोठामा बसीबसी स साना कार्यक्रम हुन या ठुला घटना परिघटना हुन कति सजिलै नकारात्मक टिका टिप्पणी गरिदिन्छन् । विषय वस्तुको गहिराईमा नपुगी क्षणिक आवेगमा आएर बोलेका या लेखिएका यस्ता कुराहरुले अरुको मनमा जीवनमा कस्तो फरक पार्छ त्यो बारेमा लेख्नु या बोल्नु अगाडि कसैले सोचेका छौ त ? हामी मानिस हौ । यावत कमजोरी सहितका मानिस । हामी कोही पनि पूणर् छैनौ एकाध मानिस बाहेक हामी अधिकांश स-साना सफलतामा उत्साहित हुन्छौ । त्यसै गरी स-साना गल्ती या अप्ठ्यारामा हतोत्साहित पनि हुन्छौ । बल्लतल्ल घर बाहिर निस्केर यात्रा आरम्भ गरिरहेका बखत महिलाहरुका चरित्रका बारेमा अनावश्यक टिका टिप्पणी गर्नु महिलाहरुको अग्रगमनको यात्रालाई बिथोल्न खोज्नु होइन र ।
एकातिर शारीरिक हिंसा ,बलात्कार र हत्याका समाचारहरु छन् अर्कातिर महिलाको चरित्रलाई महिला माथि नै प्रहार गर्ने निकृष्ट हतियार बनाइएको छ यस्ता घटनाहरुले महिलाको आत्मबललाई कमजोर पारिदिएको छ । सबैको नजरमा अब्बल ठहरिन महिलाहरुले आफैलार्ई खुम्चाएका कैयन उदाहरण हामी सामु छन् । कतिपय अवस्थामा त हिंसा सहन पनि बाध्य बनाइ दिएको छ । किनभने जब यौनजन्य हिंसाहरुको कुरा उठ्छ अझै पनि महिला नै दोषी ठानिन्छ । कोमलवली ,विद्यादेवी भन्डारी या हाम्रो समाजका अन्य महिला । यीनिहरु माथि पटक पटक लगाइने यस्ता लान्छना फगत लान्छना मात्र होइन । छोरी कुटेर बुहारी तर्साउन व्यवहारको नमुना प्रस्तुत हो । ओ पोथी हो । बासेर त हेर तिमीहरु । भनेर दिएको चेतावनी पनि । महिलाहरु जुनसुकै ओहोदामा पुगेका हुन् ।काम गर्ने शिलशिलामा आम मानिसले झै गलत भएको हुन सक्छ । गलत भएको छ भने सो बारे स्पष्टीकरण मागौ ।
प्रश्न गरौ । आलोचना गरौ ।प्रतिवाद गरौ । असन्तुष्टि व्यक्त गरौ । ( लेखक रौतहटमा शिक्षिका हुन )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here