गौर, ७ भदौं । रौतहटमा सादा पोसाकमा खटिने घुमुवा प्रहरीले लागुऔषध राखेर पत्रकारलाई फसाएको पुष्टि भएको छ । निर्दोष व्यक्तिलाई लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले स्वीकार गरेको छ । घटनामा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको प्रहरी कार्यालय रौतहटले पुष्टि समेत गरेको छ । सोमबार पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले नेपाल पत्रकार महासंघ रौतहटका सह–सचिव सञ्जय शहनीले धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरि मोजिबुल्लाहलाई फसाएको पुष्टि गरेको छ । शाहका अनुसार सञ्जय शहनीले नै धिरज तथा जितेशलाई मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको छ । ३२ साउनमा पत्रकार मोहम्मद मोजिबुल्लाह चढने मोटरसाइकमा लागूऔषध राखिएपछि, शहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर लागूऔषध चेक गर्ने लगाइ पक्राउ गराएका थिए । तर, सीसीटीभी फुटेज अनुसार षड्यन्त्र गरी मोजिबुल्लाहको मोटरसाइकलमा लागूऔषध राखी उनलाई फसाएको पुष्टि भएसंगै घटनामा संलग्न रहेका धिरज यादव र जितेर यादवलाई हिरासदमा लिएको थियो । शाहका अनुसार जिल्ला अदालत रौतहट गौरबाट ६ दिनको म्याद थप अनुमति लिई यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ । षड्यन्त्र गरी निर्दाेश व्यक्तिको मोटरसाइकलमा लागूऔषध राखेको र गैरव्यवसायिक काममा संलग्न भएका प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई निलम्बन गरिएको सिद्धिविक्रम शाहले बताए ।