गौर,८ भदौ । जिल्ला प्रहरी कार्यालय रौतहटले लागु औषध कारोवारमा पक्राउ परेका पत्रकार मोजिबुल्लाहलाई छाडेको छ । पत्रकार मोजिबुल्लाहलाई छाडनु पहिला प्रहरीले त्यसको दोष अर्का पत्रकार संजय सहनीलाई लगाएको छ । जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अधिकांस पत्रकारले जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धि बिक्रिम शाह र डिएसपी नारायण प्रसाद चिमोरियालाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरे । एसपी शाहले संजय सहनी नामका पत्रकारको मिलेमतोमा घुमुवा प्रहरीको संलग्नतामा पत्रकार मोजिबुल्लाहको मोटर साईकलमा लागु औषध राखेको पत्रकार सम्मेलनमा बताएकाछन् । उनले दुई जना घुमुवा प्रहरीलाई निलम्बन गरेको बताएपनि प्रहरी स्रोतका अनुसार दुबै प्रहरी माथि कुनै प्रकारको कार्वाही नगरेको दावी गरेको छ । नेपाल पत्रकार महांसघ रौतहटका अध्यक्ष प्रमेचन्द्र झाले पत्रकार फंसाउने काममा एसपी शाह र डिएसपी चिमोरियाकै संलग्नता रहेकोले उनीहरु माथि पहिला कार्वाही हुनुपर्नेमा जोड दिए । अर्का पत्रकार संजय सहनी र एसपी शाह बिच मोजिबुल्लाह पक्राउ परेपछि भएको बर्तालापको अडियो समेत सार्वजनिक भएको छ ।
घुमुवा प्रहरीका असई उदय यादव र जवान मनोज साह माथि कुनै प्रकारको कार्वाही नभएको भन्दै नेपाल पत्रकार महासंघ रौतहटले अपत्ति जनाएको छ । रौतहटमा रहेको मण्डबी नामक संस्था र जिल्ला प्रहरी कार्यालय रौतहटका बिरुद्धमा मोजिबुल्लाहले समाचार लेखेपछि संस्थाकी अध्यक्ष अन्जु झा र एसपी शाहकै संलग्नतामा पत्रकारलाई लागु औषध कारोवारमा फंसाउने काम भएको रौतहटका पत्रकारको भनाइ रहेको छ ।
नेपाल पत्रकार महासंघ रौतहटका सह सचिव समेत रहेका संजय सहनी माण्डबी नामको संसथामा कार्यरत समेत रहेका थिए । प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले यो घटनामा एसपी र डिएसपी समेतको संलग्नता रहेकाले उनीहरु माथि समेत छानबिनको माग गरेका थिए । प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार संजय मिश्रले माण्डबी नामक गैरसरकारी संस्थाकी अध्यक्ष झाको मिलेमतो प्रहरीले एउटा पत्रकार छाडेर अर्का पत्रकार फंसाउने षडयन्त्रमा लागेको बताए । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य शिव पुरीले यो घटनाको बिषयमा केन्द्रीय स्तरको चाँचबुझ समिति बनाउनु पर्ने माग गरे ।
प्रहरीले निर्दोष पत्रकारलाई फंसाउ माण्डबी नामक गैरसरकारी संस्थासंग आर्थिक चलखेल गरेको रौतहटका पत्रकारहरुको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलनमा प्रहरीले पत्रकारको मोटर साईकलमा लागु औषध राख्ने दुईजना युवा धिरज यादव र जितेस कुमार यादवको बयानका आधारमा पत्रकार संजय सहनीको खोज तलास भईरहेको बताएको थियो ।
पत्रकार मोजिबुल्लाह पक्राउ परेपछि सो घटनाको बिषयमा सहनी र एसपी शाहको बार्तालाभ गरेको अडियो समेत सार्वजनिक भएको छ ।