निजगढ,१५ भदौ । जिल्लाको निजगढ नगरपालिका–४ बागदेवस्थित बाघभैरव सामुदायिक वनले अतिक्रमणमा परेको वन क्षेत्रलाई संरक्षण गरेर माछापोखरी निर्माण गरेको छ । एक दशकदेखि स्थानीयहरूले अतिक्रमण गरेर खेती गर्दै आएको करिब डेढ बिघा जग्गा संरक्षण गरेर सामुदायिक वनले सो क्षेत्रमा व्यावसायिक हिसाबले माछापालन गर्नेगरी पोखरी निर्माण गरेको हो ।
डिभिजन वन कार्यालय बाराको २८ लाख ५० हजार आर्थिक सहयोगमा वन्यजन्तुहरूलाई पिउने पानीको व्यवस्थापनका लागि पोखरी निर्माण गरिएको उपभोक्ता दुर्गा पौडेलले जनाएका छन् । वनको सो जग्गामा यसअघि स्थानीयहरूले अतिक्रमण गरेर धान, मकै गहुँखेती लगाउदै आएका थिए । यो पोखरीबाट समुदायलाई धेरै फाइदा छ, बालीनाली जंगली जन्तुले सधैँ खाएर रातभर कुरुवा बस्नुपर्ने हैरानी थियो यो पोखरी निर्माण भएपछि वन्यजन्तुबाट बालीको नोक्सानी हुन कम भएको छ पौडेलले भने, प्रतिवर्ष सामुदायिक वनलाई ५ लाख रुपैया आम्दानी हुन्छ, स्थानीयले रोजगारीसमेत पाए, वन्यजन्तुलाई पनि बाह्रैमासे पिउने पानीको व्यवस्था भयो बाघभैरव सामुदायिक वनले अतिक्रमणमा परेको वन क्षेत्रलाई संरक्षण गरेर व्यवसायिक हिसाबले माछा पालनको लागि पोखरी ठेक्का लगाएको छ । सो वन समूहले ३ वटा पोखरीबाट वार्षिक ५ लाख आम्दानी हुने गरी ठेक्का लगाइएको वन समितिले जनाएको छ । पोखरीमा बलौटे र ढुंगा भएकोले ५ सय २१ टिप जंगलको मलिलो माटो र गोवर हालेर पोखरीमा पानी अडाइयो सामुदायिक वनका अध्यक्ष सुदर्शन लामिछानेले भने बढी ढुंगा भएकोले पोखरी खन्दा धेरै समस्या भयो, पछि पानी अडाउने हिसाबले साइड ड्याममा गोवर पनि हाल्यौं । वन कार्यालय बाराले वन्यजन्तुलाई सुक्खा मौसममा पिउने पानीको समस्या नहोस् भन्ने उद्देश्यले गत वर्ष अधिकांश साझेदारी तथा सामुदायिक वनमा पोखरी निर्माण गरेको थियो। जसमध्ये केही पोखरीहरूमा पानी अड्न सकेन भने केही ठाउँमा व्यावसायिक हिसाबले माछापालनसमेत गरिएको छ । डिभिजन वन प्रमुख मञ्जुर अहमदले अतिकम्रणमा परेको सामुदायिक वन क्षेत्र संरक्षण हुने उद्देश्यले पोखरी निर्माण गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here