जनकपुर,१९ भदौ । क्रियाशील सदस्यता विवादका कारण प्रदेश २ का जिल्लाहरुमा नेपाली कांग्रेसको वडाअधिवेशन सुरु हुन सकेको छैन । १४ औं महाधिवेशनमा होमिएको कांग्रेसको देशभरका ५६ जिल्लामा वडाअधिवेशन चलिरहेपनि प्रदेश २ का जिल्लाहरुमा अझै सुरु हुन नसकेको हो । प्रदेशका सबै जिल्लामा क्रियाशील सदस्यतालाई लिएर विवाद छ । नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले दुईवटा क्षेत्रमा क्रियाशील सदस्यताका कारण विवाद रहेकोले वडाअधिवेशन सुरु हुन नसकेको जानकारी दिए । उनले सदस्यता नवीकरण सम्बन्धी कुनै विवाद नरहेको समेत दाबी गरे । धनुषाको २ र ३ नम्बर क्षेत्रमा नवीकरण वा क्रियाशील सदस्यतालाई लिएर कुनै विवाद छैन। क्षेत्र नम्बर १ र ४ मा मात्रै विवाद छ,उनले भने । उनले क्षेत्रमा क्रियाशील सदस्यता सम्बन्धी फारम भर्ने जिम्मा क्षेत्रीय सभापतिहरुलाई दिइएपनि उनीहरुले केन्द्रीय सर्कुलर अनुसार फारम नभरेकाले उजुरी परेपछि अहिले सोही विवाद केन्द्रीय छानविन समितिले हेरिरहेको बताए । धनुषाको दुईटै क्षेत्रको विवाद समाधान भएलगत्तै वडा अधिवेशन चांडै सुरु हुने सभापति गिरीको दाबी छ । उता, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले क्रियाशील सदस्यता सम्बन्धी विवादको छिनोफानो हुन नसकेकोले अधिवेशन सुरु हुन ढिलाई भएको स्वीकार गरे । उनले केन्द्रबाट क्रियाशील सदस्यहरुको छिनोफानो गरी नामावली पठाएलगत्तै अधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताए । प्रदेश २ का सबै जिल्लामा एक साता भित्रै वडा अधिवेशन सुरु हुने भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले बताए । उनले भने,प्रदेशभरीको क्रियाशिल सदस्यता सम्बन्धी विवाद समाधान गर्नका लागि प्रयास भईरहेकोले यो समस्या चांडै समाधान हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here