रौतहट, २५ भदौं । तराई/मधेसका जिल्लाहरूमा आज चौरचन पर्व मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मधेसको विशिष्ट पर्व हो ।

चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ । ज्योतिष शास्त्रमा चन्द्र मण्डललाई जलवृष्टीको आधार मानिएको छ । यही विश्वासले मधेसी समाज कुनै पनि शुभकार्य गर्दा चन्द्रमाको स्थितिलाई अनिवार्यरूपले विचार गर्ने चलन रहेको छ ।

मैथिल समाजको भाव, कल्पना र विचारमा चन्द्रमाको व्यापकत्व रहेका कारण मैथिल समाजले धार्मिक अनुष्ठानदेखि साहित्य, संगीत, चित्रकलालगायतका विभिन्न क्षेत्रमा चन्द्रमालाई चन्द्रदेव भनी आराधना गर्दै आएको देखिन्छ । चन्द्रमालाई मनको देउता पनि भनिन्छ । ऋग्बेदमा धनको प्राप्ति एवं सूस्वास्थ्यका लागि चन्द्रमाको यत्रतत्र प्रार्थना गरिएको पाइन्छ । चन्द्रमाको उपासनाले कफ रोग निको हुने, वीर्य दोषबाट निवृत्ति र चञ्चल मन एकाग्र हुने धारणा पाइन्छ ।

शारीरिक कान्तिका लागि पनि चन्द्रमाको पूजा गर्ने मान्यता रहेको छ । योग शास्त्रअनुसार चन्द्रबिम्बमा ध्यानले विश्वको समस्त घटनाको ज्ञान साधकले सहजताले प्राप्त हुन्छ । यो पर्वलाई ‘चौठचन्द्र’ पनि भनिन्छ । संस्कृत भाषाको चतुर्थी ध्वन्यात्मक भेद्ले गर्दा चौठी वा चौठ हुन गएको हो ।

लोक धारणाअनुसार भदौ शुक्ल चतुर्थीको दिन उदाउने चन्द्रमा चोर हुन्छ भनिन्छ । यस दिनको चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन, यसो गरेमा दोष लाग्दछ ।’ हातमा कुनै फल वा नैवेद्य लिई यस दिनको चन्द्रमाको दर्शन गरेमा दोष नलाग्ने मान्यतासमेत रहेको छ ।

मधेसी समाजका धेरैजसो परिवारमा यो व्रत गर्ने भाकल गरिएको हुन्छ । परिवारमा कसैलाई कुनै कष्ट भएको बेला यो पर्व गर्ने भाकल गरेर कष्ट निवारणका लागि चन्द्रमालाई विन्ती गरिन्छ । यस्तो भाकल पाँच-दश वर्षका लागि पनि गरिन्छ भने कतिपय अवस्थामा यो आजीवन हुने गर्दछ ।

चतुर्थीका दिन दिनभर उपवास बसी नैवेद्य लागि पकवान पकाइन्छ । साँझ भएपछि चन्द्रमाको विशेष विधिपूर्वक पूजा गरिन्छ । यो पर्व मनाउन परिवारका सदस्य टाढा- टाढाबाट घर पुग्ने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here