जनकपुर,२८ भदौ । जनता समाजवादी पार्टी विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश नं. २ प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल बन्ने भएको छ । प्रदेश २ मा दल रोज्ने प्रदेशसभा सदस्यहरूको संख्या १६ पुगेपछि प्रमुख प्रतिपक्षी दलको मान्यता पाउने भएको छ ।
प्रदेशसभामा एक सय सात सदस्य रहेकोमा माओवादी केन्द्रले तीनजना हटाएपछि हाल एक सय चार जना कायम छन् । त्यसमध्ये सभामुखबाहेक जसपाका ३९ जना छन् । लोसपाको १६, कांग्रेसका १९ र एमालेका आठ, नेकपा एसको १३, माओवादी केन्द्रको आठ, नेपाल संघीय समाजवादीका एकजना प्रदेशसभा सदस्य छन् । हाल प्रदेशसभामा जसपा पहिलो, काग्रेस दोस्रो, विभाजनपछि गठित लोसपा र नेकपा (एस) प्रदेशसभामा क्रमशः तेस्रो र चौथो ठूलो दल बनेको छ भने दोश्रो दलको रूपमा रहेको एमाले पाँचौँ, माओवादी केन्द्र छैटौं र नेपाल संघीय समाजवादी पार्टी सातौं दल बन्न पुगेको छ । कांग्रेस दुई मन्त्रालयसहित सरकारमा सहभागी छ । माओवादी केन्द्रले एक मन्त्री र एक राज्यमन्त्री पाएको छ । नेकपा एसलाईसमेत सरकारमा सहभागी गराउने तयारीमा भइरहेको छ । नेकपा एसका नेता शत्रुधन महतोले संघीय सरकारमै आफ्नो पार्टीको सहभागिता र मन्त्रिपरिषद् विस्तारमा कठिनाइ देखिएका कारणले प्रदेश २ मा यस विषयमा छलफल नै सुरू नभएको बताए । हामी सरकारमा जान छौं । तर, यस विषयमा केन्द्रमै सहमति भएको छैन । प्रदेशमा तत्काल छलफलसमेत सुरु भएको छैन, उनले भने । कांग्रेस सरकारमा सहभागी भएपछि लोसपाले प्रमुख प्रतिपक्षीको रूपमा मान्यता पाउने भएको छ । प्रदेश २ का प्रदेशसभा सचिव रञ्जित यादवले भने, दल गठनले मात्रै होइन निर्वाचन आयोगले दल गठन भएको औपचारिक जानकारी गराइसकेपछि गठित दलले दल मान्यताको प्रमाणसहित प्रदेशसभामा दावीसहितको माग गरेमा सोही दिनदेखि दलका नेता र प्रमुख सचेतकको सेवासुविधा पाउने छन् । दुईवटा संसदीय दल र कर्मचारीसमेत थपिने तयारी गरिएको छ । यता, लोसपाका नेता परमेश्वर साहले आफ्नो पार्टीको चांडै बैठक बसेर संसदीय दलको विधान निर्माण भएपछि नेता तथा प्रमुख सचेतक सचेतक चयन गरिने जानकारी दिए ।