काठमाण्डौं, ५ असोज । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मंगलबार एएफसी एसियन महिला कप–२०२२ छनोटको दोस्रो खेलमा हङकङको सामना गर्दैछ । शनिबार भएको पहिलो खेलमा फिलिपिन्सविरुद्धको अग्रता जोगाउन नसकेको नेपाल १–२ गोलको नतिजामा पराजित भएको थियो ।

खेलको दशौं मिनेटमा विमला चौधरीको गोलसँगै अग्रता लिएको नेपालले खेलको अन्तिम मिनेटमा बराबरी गोल खाएको थियो । अन्तिमको पाँच मिनेट सम्हालिन नसकेको नेपालले इन्जुरी समयमा पुनः गोल खाँदा पराजित हुनु परेको थियो ।अर्को वर्ष भारतमा हुने एएफसी महिला एसियन कपमा छनोटको आशा जिवितै राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । फिलिपिन्सविरुद्धको खेलमा चोटका कारण बाध्य भएर मैदान छाडेकी विमला चौधरी आजको खेलमा उपलब्ध हुनेमा आशंका छ भने पुजा राना अनुपस्थित रहने निश्चित भइसकेको छ ।

ताश्केन्त पुगेर एक खेल पनि नखेलेको हङकङ फ्रेस भएकाले आजको खेलमा नेपाललाई कठिन चुनौती हुने निश्चित छ । हङकङबाट आजको खेलमा नेपाली मूलकी स्नेहा लिम्बुले पनि खेल्ने सम्भावना छ । प्रवासी नेपालीकी छोरी स्नेहाले विद्यालय स्तरीय फुटबलबाट ‘सिटिजन्स’ क्लब हुँदै हङकङको राष्ट्रिय टोलीबाट डेब्यू गरिसकेकी छन् । यद्यपि, हङकङको टोलीका केही महत्त्वपूर्ण खेलाडीले आजको खेल गुमाउने छन् । हङकङकी कप्तान चान विङ्ग–स्जसहित टोलीका सिनियर खेलाडी चुङ्ग वाई–की, युई हेइ–म्यान र वाइ युन–टिङ विविध कारणले अनुपस्थित रहने छन् । तर, फिफा बरियतामा ७६औं स्थानको हङकङविरुद्ध १ सय १औं स्थानमा रहेको नेपाललाई सकारात्मक नतिजा निकाल्न कठिन हुने निश्चित छ । समूह ‘एफ’ मा रहेका नेपाल, हङकङ र फिलिपिन्समध्ये एक टोलीले भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here