चन्द्रपुर,५ असोज । सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिए पनि चन्द्रपुर नगरपालिकाको एक सरकारी विद्यालयका विद्यार्थी अहिले पनि मासिक शुल्क तिर्न बाध्य रहेका छन् । चन्द्रपुर नगरपालिका वडा नं ६ मोथियाहिको श्री आधारभुत विद्यालयले विद्यार्थीसंग मासिक चर्को शुल्क लिने गरेको पाइएको छ । नेपालको संविधानको धारा ३१ मा शिक्षाको मौलिक हक सम्बन्धी व्यवस्था अनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य तथा मावि तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । तर, श्री आधारभुत बिद्यालयले विद्यार्थीसंग चर्को शुल्क लिने गरेको हो । विद्यालयले विद्यार्थीसंग भौत्तिक निर्माण शुल्कको नाममा ९०० रुपैयाका दरले शुल्क उठाएको पाईएको छ ।
चन्द्रपुर नगरपालिकाका नगर शिक्षा शाखा अधिकृत दिपेन्द्र मण्डलले सामुदायिक विद्यालयले कुनै पनि वहानामा विद्यार्थीसंग शुल्क लिन नपाउने तराई एक्सप्रेसलाई बताए ।
मावि सम्म निःशुल्क शिक्षा हो, अतिरिक्त कक्षा संचालन गरेमा केही शुल्क लिन मिल्छ तर विद्यालयकै समयमा पढाए वापत कुनै शुल्क लिन नपाइने मण्डलले बताए । निःशुल्क शिक्षा पाउनुपर्ने मौलिक हक भए पनि विद्यालयले ऐन विपरीत शुल्क लिदा अभिभावक तथा विद्यार्थी मर्कामा परेका छन । कक्षा ८ सम्म सञ्चालन भएको सो विद्यालयका विद्यार्थीहरुले चर्को मासिक शुल्क तिर्नु परेको गुनासो रहेको छ । बोर्डिङ स्कूलले जस्तै सरकारी स्कूलले पनि मासिक शुल्क लिने गरेको अभिभावक जबहार चौधरीले तराई एक्सप्रेसलाई बताए । उनले भने, सरकारी विद्यालयमा पनि बिभिन्न नाममा शुल्क तिर्नु पर्दा हामी जस्ता आयस्रोत न्यून भएका परिवारलाई निकै समस्या परेको छ ।
यता बिद्यालयको बिषयमा प्रधानाध्यपक लालबाबु कर्णसंग बुझ्न खोज्दा उनको फोन सम्पर्क हुन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here