रुपेन्द्र पटेल
रौतहट, ११ असोज ।
हत्या आरोपमा पक्राउ परेका ३ जनालाई रौतहट प्रहरीले सार्वजनिक गरेको छ । गत भदौ २६ गते रौतहटको चन्द्रपुर नगरपालिका वडा नं—३ गैडाटारमा ५० वर्षिय रोहिणी प्राद घोरासैनीको शव पिरपिरे रुखको हाँगामा फेला परेको थियो । घोरासैनीको शव कालापानी सामुदायिक वन जंगलको झाँडीमा गम्छाको पासोमा झुण्डिएको अवस्थामा थियो । घटना लगतै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेको कमाण्डमा खटि गएको प्रहरीको टोलीले अनुसन्धान सुरु गरेको थियो । सुरुमा आत्महत्या जस्तो देखिएपनि घटनास्थल र शवको प्रवृति हेर्दा शंकास्पद देखिएपछि प्रहरीले गहिरिएर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरिक्षक लामिछानेको भनाइ छ । प्रहरी र स्थानीयलाई गुमराहमा राख्न घटनाका योजनाकारहरुले हत्या गरिसकेपछि रुखमा झुण्डाएको अनुसन्धानबाट खुलेको उनले बताए ।
प्रहरीले घटनाका संलग्न रहेको आरोपमा चन्द्रपुर नगरपालिका वडा नं—३ गैडाटार बस्ने ४५ वर्षिय प्रल्हाल फुुयाँल, सिन्धुली जिल्ला पिपलमाडी गाविस वडा नं—९ घर भई हाल पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नं—३ सृजना टोल बस्ने २४ वर्षिय रमेश पहरी र नवलपरासी जिल्ला पूर्व कावासोती नगरपालिका वडा नं—८ बस्ने २३ वर्षिय सूर्य बहादुर भण्डारीलाई पक्राउ गरि सार्वजनिक गरेको छ । घटनाका मुख्य योजनकार चन्द्रपुर नगरपालिका वडा नं—३ गैडाटार टोल घर भई हाल जिल्ला चन्द्रपुर नगरपालिका वडा नं— ४ कप्तान टोल बस्ने ३८ वर्षिय सहदेव भन्ने डोल प्रसाद बोलखे भने फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
यता मृतक घोरासैनीको परिवारले हत्यामा संलग्न सबैलाई कडा कारवाही हुनुपर्ने माग गरेका छन् । मृतककी श्रीमती चुर्ण कुमारी घोरासैनीले आफ्नो निर्दोष श्रीमानलाई पुरानो रिसइबीको कारण हत्या गर्ने अपराधीहरु जो सुकै भएपनि उनीहरुलाई कानुनको दायरामा ल्याएर कडा भन्दा कडा कारवाही गर्नु पर्ने माग गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले यो घटनालाई प्रहरीले निकै गहिरिएर अनुसन्धान गरिरहेको र घटनामा संलग्न कोहीँ पनि उम्कन नसक्ने दावी गरेका छन् । इलाका प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मी, मृतकका परिवार र स्थानीयसँग कुराकानी गर्दै प्रहरीले यो घटनालाई सुक्ष्म रुपमा विभिन्न कोणहरुबाट अनुसन्धान गरिरहेको जनाउँदै फरार अभियुक्त पनि चाँडै पक्राउ पर्ने विश्वास दिलाएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here